वर्षाको सम्भावना कायमै, मौसमविद् भन्छन्- आत्तिनु पर्दैन

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले बुधबार र बिहीबार मुलुकको विभिन्न स्थानमा वर्षाको सम्भावना रहेको बताएको छ । तर अविरल वर्षाको सम्भावना नभएकाले आत्तिइहाल्नुपर्ने अवस्था नरहेको महाशाखाको भनाइ छ ।

मौसम शाखाको मौसमविद् गोविन्द झाले कोशी प्रदेशका केही स्थानमा, बागमती तथा गण्डकी प्रदेशको पहाडी भू-भागका केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको जानकारी दिए । कोशी, बागमती र गण्डकी प्रदेशकै केही स्थानमा भने भारी वर्षाको पनि सम्भावना छ, उनले भने, तर गत साता जस्तो लगातार झरी पर्दैन, कति सर्वसाधारणमा त्रास फैलिएको पाइयो तर आत्तिनु पर्दैन ।

महाशाखाले जारी गरेको तीन दिने मौसमी बुलेटिनमा देशभर मनसुनी वायु र भारतको उत्तर–पूर्व असाम र आसपासका क्षेत्रमा बनेको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको उल्लेख छ ।

विभागका अनुसार हाल कोशी प्रदेशलगायत बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा छ । कोशी प्रदेशको एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा भइरहेको छ ।

महाशाखाका अनुसार आगामी २४ घण्टामा कोशी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि साधरणतया बदली रही बाँकी प्रदेशमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ । यस अवधिमा कोशी प्रदेशका केही स्थानमा तथा बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरू तथा बाँकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाको भनाइ छ ।

साथै कोशी प्रदेश र बागमती प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेकाले कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा असर पर्ने सम्भावना रहेकोले ती क्षेत्रमा हुनसक्ने गेग्रान बहाव, बाढी, पहिरो, भू-क्षयजस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउनुपर्ने माहाशाखाको अनुरोध छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर