आन्तरिक उडानका लागि आवश्यक विमान नै छैनन् : पर्यटनमन्त्री

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले आन्तरिक उडानलाई व्यवस्थित बनाउन विमानहरुको कमी रहेको गुनासो गरेका छन् ।

मंगलवार मन्त्रालयमा नेपाली काँग्रेस निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) को ध्यानाकर्षण पत्रपछि बोल्दै उनले यस्तो बताएका हुन् ।

नेविसंघले अहिले चाडपर्वको समय रहेको र मनसुनजन्य विपद्का कारण सडक सञ्जाल अवरुद्ध रहेकाले हवाई उडानमार्फत चाडवाडका लागि गाउँ फर्किनेहरुको व्यवस्थापन गर्न र हवाई भाडा वृद्धि भएकोमा नियन्त्रण गर्न मन्त्री पाण्डेको ध्यानाकर्षण गराएको थियो ।

ध्यानाकर्षणपछि बोल्दै मन्त्री पाण्डेले नेपालमा अहिले ५२ वटा विमानस्थलहरु रहेको र सबै सञ्चालन गर्न विमानहरुको अभाव रहेको बताए । उनले आन्तकिर ट्विनएटर विमानहरु ९/१० वटा मात्रै भएकाले सञ्चालन गर्न कठिनाइ भइरहेको बताए ।

उनले नेपाल एयरलाइन्सको जम्मा एउटा मात्रै ट्विनएटर रहेको भन्दै समाधान गर्ने दिशामा निगमलाई कसरी सुधार गर्न सकिन्छ भन्नेबारेमा सरकारले आवश्यक काम गरिरहेको बताए ।

उनले निजी क्षेत्रलाई थप विमान ल्यान प्रोत्साहन गर्नेगरी सरकार अघि बढिरहेको बताए । ७ वटा प्रदेशले सात वटा ट्विनएटर किनेर सञ्चलन गर्नेकुरा आफूले पूर्वपर्यटनमन्त्रीहरुसँग छलफल गरिसकेको पनि जानकारी गराए ।

उनले राहत तथा उद्धारका लागि पनि चाहिने जति हेलिकप्टरहरु नरहेको बताए ।

उनले भने– ‘फ्लाइटहरुको सन्दर्भमा पनि हामीले सत्य बुझिराख्नुपर्छ । नेपालमा अहिले ५२ वटा एयरपोर्टहरु छन् । ५२ वटा एयरपोर्टमा सबै एयरपोर्ट सञ्चालन होस् भन्ने सबैको चाहना छ । तर प्लेनहरु हामीसँग छैनन् । डोमेस्टिक ट्विनएटरहरु जम्मा ९/१० वटा मात्रै छन् । त्यसले भ्याउने अवस्था छैन । नेपाल एयरलाइन्सको त एउटा ट्विनएटर छ । मुख्य एयरक्राफ्टहरुकै कमी ठूलो समस्याको रुपमा छ । त्यसलाई समाधान गर्ने दिशामा निगमलाई कसरी सुधार गर्ने ? निजी क्षेत्रलाई पनि थप प्लेन ल्याउनुस् भन्न प्रोत्साहन गर्नुपर्ने स्थिति छ । निजी क्षेत्रलाई अफ्ठ्यारो पारेर व्यवसाय नै नचल्ने अवस्था बनाए व्यवसाय छोड्ने अवस्था हुन्छ । ७ वटा प्रदेशले सात वटा ट्विनएटर किन्नेकुराको लिड गर्नुपर्ने प्रश्ताव मैले गरेको छ । तिनीहरुलाई सम्बन्धित ठाउँमा राखेर प्रदेशका पहाडी जिल्लामा चल्छन् । निजी क्षेत्रलाई गाली गरेर मात्रै हुँदैन, प्रोत्साहन पनि गर्नुपर्छ । लगानी गर, यो क्षेत्र सुरक्षित छ भनेर प्रोत्साहन गर भन्नुपर्ने छ । प्लेन नै छैन, जसरी पनि उडाइदिनुस् भनेपछि स्वभाविक रुपमा बार्गेनिङ बढ्ने भयो । आवश्यक हलिकप्टर नै छैनन् ।’

मन्त्री पाण्डेले सरकारसँग आन्तरिक उडानका लागि आवश्यक विमान नहुनु र निजी क्षेत्रलाई आग्रह गर्दा स्वभाविक रुपमा बार्गेनिङ हुने गरेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *