यसपालि दसैँमा किन साटिएन नयाँ नोट ?

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामा भएका सुकिला नोट व्यवस्थापन गर्नको लागि दसैँमा नयाँ नोटको सट्टा सुकिला नोट साट्ने व्यवस्था गरेको छ । आइतबारदेखि नेपाल राष्ट्र बैंकको केन्द्रीय कार्यालय, प्रदेशस्थित कार्यालयका साथै अन्य बैंकहरूबाट समेत नोट साट्न पाइने व्यवस्था गरेको हो ।

विगतका दसैँमा नयाँ नोट साट्ने व्यवस्थालाई अब नयाँ नोट नभई बैंकमा भएका सुकिला नोट व्यवस्थापनको लागि यो व्यवस्था गरिएको राष्ट्र बैंकका सहायक प्रवक्ता डिल्लीराम पोखरेलले बताए । ‘विगतमा नेपाल राष्ट्र बैंकले नयाँ नोट सटही गर्दै आएपनि यो वर्षदेखि सफा नोट मात्रै सटही गर्ने भएको छ । हामीसँग बैंकिङ सिस्टममा प्रशस्त मात्रामा सुकिला,चलनचल्तीमा प्रयोग गर्न योग्य छन्,’ उनले भने, ‘त्यसलाई प्रयोग गर्नसक्यौं भने सुकिला नोट व्यवस्थापन गर्नसक्छौ । बैंक तथा वित्तीय संस्थामा प्रशस्त सुकिला नोट भएको र व्यवस्थापन गर्नु परेकाले नयाँ नोट नआएको हो । सुकिला नोट व्यवस्थापनमा समस्या परेको अवसरमा व्यवस्थापन गर्ने उद्देश्य हो ।’

सहायक प्रवक्ता पोखरेलले नयाँ नोट छपाई नेपालमा नहुने र विदेशी मुद्रा तिरेर छाप्नुपर्ने अवस्थालाई ध्यानमा राख्दै सफा नोट मात्र प्रयोग गर्न प्रोत्साहित गरिएको बताए । ‘नयाँ नोट छपाई नेपालमा हुँदैन । विदेशी मुद्रातिर नयाँ नोट छपाई गर्नुपर्ने हुन्छ । बैंकहरुमा उपलब्ध नोट प्रयोग गर्नसक्छौं भने छपाइको लागत कम गर्नसक्छौं भन्ने उद्देश्यले यो वर्षदेखि सफा नोट प्रयोग गरौं भन्ने हो,’ उनले अगाडि भने, ‘पुराना नोट प्रयोग गर्न अयोग्य भएपछि नयाँ नोट बजारमा आउँछ । अब दसैँमा मात्रै नयाँ नोट चाहिन्छ भन्ने मानसिकताबाट बिस्तारै हामी बाहिर जानुपर्छ । आवश्यकताअनुसार राष्ट्र बैंकले नयाँ नोट छपाई र सटही गर्दै जान्छ । दशैंको समयमा नयाँ नोट बजारमा ल्याउँदा नोटको हिफाजत नहुने देखिएको छ ।’

सुकिला नोट साट्न चाहनेले १८ हजार ५ सय रुपैयाँसम्म पाउनेछन् । ५, १०, २०, ५० र १०० दरको एक सेटका दरले १८ हजार ५०० रुपैयाँ साट्न पाउनेछन् । नेपाल राष्ट्र बैंकले हरेक वर्ष चाडपर्व लक्षित गर्दै नयाँ नोट सटही गर्दै आएको थियो । तर यसवर्ष भने एकपटक प्रयोगमा आइसकेका नोट साट्न पाइने भएको हो ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *