‘हेर्दाहेर्दै श्रीमती पुरिइन्, म बाँच्न सफल भएँ’

राष्ट्रिय ट्रमा सेन्टरको इमर्जेन्सी कक्षमा नारायणप्रसाद रिमाल टोलाइरहेका छन्। उनका आँखाले कसैलाई खोजिरहेका छन्। उनका शरीरमा चोटपटक नलागेको कुनै ठाउँ छैन।

रिमालको शरीरको दायाँ भागमा बढी क्षति पुगेको देखिन्छ। इमर्जेन्सीको बेड नं २१ उपचाररत ६८ वर्षीय रिमाललाई आफू घाइतेभएको भन्दा पनि आफ्नी अर्धाङ्गिनीसँग विछोड भएको पीडाले पिरोलेको छ।

चिन्तित मुद्रामा रिमालले भने, ‘म बाँच्न सफल भएँ तर खाना बनाइरहेकी मेरी श्रीमती पहिरोमै छिन्। उद्धारका लागि डोजर पुग्न सकेको छैन रे।’ आफूलाई अप्ठ्यारो परेका बेला हरदम साथ रहने जीवनसाथीको याद नआओस् पनि कसरी?

रिमालको दायाँपट्टीको करङ फुस्किएको छ। उनको उक्त भाग चलेको छैन। मङ्गलबार अपरेशन हुने भनिएको छ। चौरी देउराली गाउँपालिका–६ काभ्रेका रिमाललाई शनिबारको उक्त कहालीलाग्दो दिन सम्झिँदा मन अमिलो हुन्छ। उनलाई समय ठ्याक्कै याद छैन, सायद बिहानको ११ बजेको हुनुपर्छ। श्रीमती पवित्रा भान्सा कोठामा खाना पकाउँदै थिइन्। रिमाल छेउकै घरको बार्दलीमा बसिरहेका थिए। बिहीबारदेखि परेको अविरल वर्षाले राम्रो सङ्केत दिइरहेको थिएन। एक्कासी माथिबाट आएको पहिरोले घर पुर्‍यो। हेर्दाहेर्दै श्रीमती पुरिइन्।

पहिरोमा परेको दुई घण्टासम्म उनले उद्धारका लागि गुहार मागे। हारगुहार गर्दागर्दै बेहोस भए। चार घण्टापछि होस खुल्दा उनले आफूलाई एकैपटक अस्पतालका बेडमा पाए।

आइतबार दिउँसो हेलिकप्टरमार्फत काठमाडौँ ल्याइएका रिमालले पहिरोले घर लग्ला भन्ने कहिल्यै नसोचेको बताए। गला अवरुद्ध पार्दै उनले भने, ‘विसं २०४६ सालमा त्यो घर बनाएको हो। यो पालि यस्तै भयो।’

ट्रमामै उपचाररत दक्षिणकाली नगरपालिका–९ फर्पिङका ३० वर्षीय सुजन बस्नेत पेसाले सवारी चालक हुन्। शनिबार लगातार वर्षा भइरहेको थियो। गाडी पन्छाउन सडकमा पुग्नै लाग्दा माथिबाट एक्कासी आएको लेदोसहितको पहिरोले उनलाई हुत्याएर पानीमा लग्यो। तुरुन्तै उद्धार गरेर नजिककै अस्पताल लगियो। उनकी श्रीमती सीताले आइतबार दिउँसो ३ बजेतिर थप उपचारको लागि उनलाई ट्रमा ल्याएको बताइन्। सुजनलाई हात, खुट्टा, घाँटी, करङमा चोट लागेको छ।

हालसम्म ट्रमा सेन्टरमा १५ जना घाइतेको उपचार भएको छ। उनीहरूमध्ये ६ जना उपचारपछि घर फर्किएका छन्। सेन्टरको विपद् व्यवस्थापनको फोकल पर्सन इन्दिरा पाण्डेका अनुसार मुख्यतः बाढी पहिरोबाट प्रभावित घाइते धादिङ, काठमाडौँ, रामछोप, दोलखा, काभ्रेबाट आएका छन्। उनले भनिन्, ‘चोटपटक लागेका ‘जटिल केश’ नै आएका छन्। ‘रिफरल केश’ पनि छन्। हालसम्म एक जनाको सर्जरी भएको छ भने तीन जनाको सर्जरी गर्ने तयारीमा छौँ।’

त्यसैगरी वीर अस्पतालमा हालसम्म एक जना मात्र घाइतेको उपचार भएको अस्पतालका इमर्जेन्सी विभाग प्रमुख डा सुरेशन नेपालले जानकारी गराए।

पाटन अस्पतालमा हालसम्म १० जना बाढी पहिरोबाट उद्धार गरिएका घाइतेको उपचार भएको छ। तीन जना डुबेका घाइते र सात जना पहिरोमा परेका उपचार गरिएको अस्पालका निर्देशक डा रवि शाक्यले जानकारी गराए। उनले भने, ‘सात जनाकै डिस्चार्ज भइसकेको छ। डुबेका मध्ये दुई जना डिस्चार्ज भएको र एक जना उपचाररत छन्। किस्ट मेडिकल कलेजबाट रिफर भएर आएका छ वटा केश रहेका छन्, जसमा दुई जना डिस्चार्ज भइसकेका छन्।’

सशस्त्र प्रहरी बल नेपालले उपलब्ध गराएको पछिल्लो तथ्याङ्कअनुसार बाढी पहिरोको घटनाबाट ८९ जना घाइतेको विभिन्न अस्पतालमा उपचार भइरहेको छ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सबै स्वास्थ्य संस्थाले विपद्बाट उद्धार गरिएका घाइते बिरामीको निःशुल्क उपचार गर्न पत्राचार गरिसकेको छ। उद्धार गरिएकालाई स्वास्थ्य संस्थाबाट प्रदान गरिने आकस्मिक सेवा र जनशक्तिलाई चौबिसै घण्टा उपलब्ध हुने गरी व्यवस्था मिलाउन मन्त्रालयले आग्रह गरेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर