
रोसीको बबन्डर : जहाँ खानी र क्रसर त्यहाँ समस्या


अविरल घनघोर वर्षापछिको बाढीपहिरोमा परेर काभ्रेपलाञ्चोक जिल्लामा मात्र ३१ जनाको मृत्यु भएको छ भने १९ जना बेपत्ता छन् । बाढीले सबैभन्दा ठुलो असर पारेको पनौती नगरपालिका, बेथानचोक गाउँपालिका र रोसी गाउँपालिकाको खानी तथा क्रसर उद्योग आसपासमा बढी क्षति छ ।
पनौती नगरपालिका–१२, भूमिडाँडा, बेथानचोक गाउँपालिका, वडा नं। ४ चलाल गणेशस्थान र रोसी गाउँपालिकाको मङ्गलटार क्षेत्रमा बाढीले सबैभन्दा ठुलो असर पारेको छ । ती स्थानमा खोलाछेउका मात्रै होइन, खोलाभन्दा निकै परका पनि सयौँ घर बगाएका छन् ।
काभ्रेपलाञ्चोकको मात्रै होइन, ललितपुरको टीकाभैरव क्षेत्रमा पनि बाढीले त्यस्तै क्षति गरेको छ । भूगर्भ तथा प्रकोपविज्ञ श्रीकमल द्विवेदीले वर्षापछिको क्षतिको प्रकार एकै किसिमको भएको बताए । खानी तथा क्रसर उद्योगसँगै ग्रामीण सडकको खनिएका ठाउँमा त्यस्ता समस्या धेरै भएको उनले जानकारी दिए । उनका अनुसार काभ्रेपलाञ्चोकको रोसी क्षेत्रमा असार ११ गते ३०० मिलिलिटरभन्दा धेरै वर्षा भएको थियो, जुने साबिकभन्दा धेरै हो ।
सो क्षेत्रमा बाढीले अत्यधिक असर पार्नुको प्रमुख कारण भनेको खानी तथा क्रसर उद्योगले अव्यवस्थित रूपमा थुपारेको गेग्य्रानले प्रमुख भूमिका खेलेको हुन सक्ने उनले अनुमान गरे । उनका अनुसार गेग्य्रानसहितको भेलबाढीले त्यति ठुलो क्षति पारेको हो । खोलाको प्राकृतिक बहाव क्षेत्रमा गेग्य्रानले अवरोध पारेपछि खोलो मानव बस्तीमा छिरेको देखिन्छ ।
अत्यधिक वर्षा भएपछि बर्षौंदेखिको भिरालो जमिनमा छाडिएको गेग्य्रानले बाटो अवरोध गरेपछि बाढीले त्यस्तो विनाश गरेको उनले बताए । जस कारणले सडक, पुल, मानिसका घरमा असर पारेको छ ।
नेपालमा पछिल्लो समयमा भएका बाढीले पारेको क्षति गेग्य्रानसहितको बाढीकै कारण हुन थालेको उनले स्पष्ट पारे । क्रमिक रूपमा माथिबाट बग्ने ठाउँमा गेग्य्रान आएपछि रोसी खोलाले बिपी राजमार्गको सतहसम्म आएको र ज्यादा क्षति पारेको उनको भनाइ छ । भल तर्काउने नालीसमेत नबनाई सडक बनाउने क्रम बढेसँगै पहिरोको जोखिम बढेको उनले बताए ।यो समाचार गोरखापत्र दैनिकमा छ
प्रतिक्रिया