कृषि र पशुसँग सम्बन्धित क्षतिको विवरण सङ्कलन गर्न सातै प्रदेशका सम्बन्धित मन्त्रालयलाई पत्राचार
कृषि तथा पशुपन्छी विकास मन्त्रालयले सातै प्रदेशका कृषि हेर्ने मन्त्रालयलाई बाढीपहिरो तथा डुबानका कारण कृषि र पशुसँग सम्बन्धित क्षतिको विवरण सङ्कलन गर्न आज पत्राचार गरेको छ ।
मन्त्रालयका सूचना अधिकारी वरिष्ठ कृषि अर्थविज्ञ महानन्द जोशीले आज विज्ञप्ति जारी गरी असोज १० गतेदेखिको भारी वर्षाका कारण बाढीपहिरो र डुबानले सिँचाइ पूर्वाधार, बालीनाली, पशुपन्छी, खाद्यान्न, बीउबीजन, गोठ, खोरलगायत संरचनामा भएको क्षति विवरण माग गरिएको जानकारी दिए ।
मन्त्रालयले सबै स्थानीय तहका कृषि एवं पशु शाखालाई पनि विवरणका लागि पत्राचार गरेको छ । कृषि क्षेत्रमा भएको विवरण सङ्कलनपछि मन्त्रालयले आवश्यक काम गर्ने विज्ञप्तिमा उल्लेख छ । क्षतिमा परेका किसानलाई प्राविधिक सहयोग गर्न पनि प्रदेशका कृषि हेर्ने मन्त्रालय र स्थानीय तहका कृषि एवं पशु सेवा शाखालाई आग्रह गरिएको जनाइएको छ । आजै कृषिमन्त्री रामनाथ अधिकारीले कृषि क्षेत्रमा भएको क्षतिको तथ्याङ्क सङ्कलन गर्न निर्देशन दिएका छन् ।
प्रतिक्रिया