बाढीका कारण १६ वटा जलविद्युत् आयोजनामा क्षति

अविरल बर्षापछि आएको बाढीपहिरोका कारण विभिन्न १६ वटा जलविद्युत् आयोजनामा क्षति पुगेको छ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) का अनुसार बाढीका कारण आयोजनाहरूको विद्युतगृह, प्रसारणलाइन तथा अन्य संरचनामा क्षति पुगेको हो ।

हाल ती आयोजनामा भएको क्षतिको विवरण सङ्कलन भइरहेको जानकारी दिँदै इप्पानले थप क्षति भएको हुन सक्ने आँकलन गरेको छ ।

नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी माथिल्लो तामाकोशी हाइड्रोपावर लिमिटेडले प्रवर्द्धन गरेको माथिल्लो तामाकोशीको बाँध स्थल तथा बालुवा थिग्र्याउने पोखरीमा क्षति पुगेको छ । सो आयोजनाको नियन्त्रण कक्ष रहेको भवनमा क्षति पुग्दा सुरक्षाकर्मी र अन्य कामदार गरी चार जना बेपत्ता भएको प्रमुख कार्यकारी अधिकृत मोहन गौतमले जानकारी दिए ।

आयोजना सञ्चालनका लागि तामाकोशी पाँचौँको सहयोग लिन लागिएको छ । कूल चार सय ५६ मेगावाट क्षमताको सो आयोजनाबाट विद्युत् उत्पादन बन्द हुँदा बिजुली आयात गर्नु परेको जनाइएको छ ।

बाढी पहिरोका कारण विद्युत् उत्पादन केन्द्रमा क्षति पुग्दा बिजुली प्रवाहमा समेत समस्या भएको छ । वैकल्पिक व्यवस्था गरी बिजुली काटिएका स्थानमा उपलब्ध गराइएको र केही स्थानमा भने अझै मर्मत जारी रहेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । प्राधिकरणका बाढीपहिरोका अनुसार देशभर नौ सय ८० मेगावाट घण्टा बराबरको बिजुली आपूर्तिमा अवरोध छ ।

इप्पानका अनुसार मान्डू हाइड्रोपावरद्वारा प्रवर्द्धित २२ मेगावाट क्षमताको बागमती साना जलविद्युत् आयोजनाको ‘पावर हाउस’ पूर्ण रूपमा डुबेको छ । खानी खोला हाइड्रोपावर, माण्डु हाइड्रोपावरलगायतका आयोजनाले बाढीका कारण विद्युत् उत्पादन बन्द भएको जानकारी नेपाल स्टक एक्सचेञ्जलाई समेत गराएका छन् ।

बाढीका कारण माउन्टेन हाइड्रो नेपालद्वारा प्रवर्द्धित २२ दशमलव एक मेगावाट क्षमताको तल्लो हेवाखोला जलविद्युत् आयोजनाको बिजुली उत्पादन बन्द भएको छ । सो आयोजना गत वर्ष पनि बाढीबाट प्रभावित भएको थियो । हाल उक्त आयोजनाबाट विद्युत् उत्पादन बन्द भएको छ ।

पाँचथर पावरद्वारा प्रवर्द्धित १४ दशमलव नौ मेगावाट क्षमताको हेवाखोला जलविद्युत् आयोजाको विद्युत् उत्पादन पनि बन्द भएको छ । गत वर्षको बाढीले क्षतिग्रस्त आयोजना पुनःनिर्माण सकेर सञ्चालनमा आउनै लाग्दा आयोजना पुनः क्षतिग्रस्त भएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर