हेलिकप्टरमार्फत एक सय ६१ जनाको सकुशल उद्धार

गृह मन्त्रालयले आइतबार बिहानसम्म नेपाली सेनाको हेलिकप्टरमार्फत बाढी पहिरो, डुबान तथा प्राकृतिक जोखिममा परेको एक सय ६१ जनाको सकुशल उद्धार गरेको जनाएको छ ।

गृह मन्त्रालयका प्रवक्ता एवं सहसचिव ऋषिराम तिवारीले आज बिहानसम्म काभ्रेपलाञ्चोकका विभिन्न पालिकाबाट अहिलेसम्म ८३ जनाको उद्धार गरी सुरक्षित स्थानमा सारिएको जानकारी दिए ।

शनिबार नै त्यहाँ हेलिकप्टर पठाइए पनि उद्धार गर्न सकिएको थिएन । काभ्रेपलाञ्चोकमा अहिले नेपाली सेनाका तीन वटा हेलिकप्टरले उद्धार जारी राखेको छ ।

मन्त्रालयका अनुसार शनिबार काठमाडौँ उपत्यकामा १३, सिन्धुलीमा ३३ र मकवानपुरमा ३२ जनाको हेलिकप्टरमार्फत उद्धार गरिएको थियो । गृह मन्त्रालयका प्रवक्ता तिवारीले बाढी पहिरोका कारण अवरुद्ध राजमार्ग खुलाउन सबै संयन्त्र परिचालन गरिएको बताए ।

मन्त्रालयका अनुसार बाढी पहिरो र डुबानबाट हालसम्म एक सय सात जनाको मृत्यु, ६४ जना बेपत्ता र ७३ जना घाइते भएका छन् । गृहमन्त्री रमेश लेखकले सुरक्षा संयन्त्र र सरोकारवाला निकायलाई उद्धार, राहत, घाइतेको स्वास्थ्य उपचार र अवरुद्ध सडक यथाशीघ्र सञ्चालनमा ल्याउन तदारुकताका साथ लाग्न निर्देशन दिइसकेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर