२३ राजमार्गका ६८ स्थानमा सडक अवरुद्ध

तीन दिनदेखिको अविरल वर्षाका कारण आएको बाढी पहिरोले राजधानी काठमाडौंलाई जोड्ने राजमार्ग तथा मुख्य सडकहरू अवरुद्ध बनेका छन् । सडक विभागका अनुसार मुग्लिन–काठमाडौं (पृथ्वी राजमार्ग), बर्दिवास–सिन्धुली–काठमाडौं (बिपी राजमार्ग), सिन्धुपाल्चोक–काठमाडौं (अरनिको राजमार्ग)लगायतका विभिन्न जिल्लासँग जोड्ने सडक अवरुद्ध छन् । साथै, विभिन्न राजमार्गका ६ वटा पुल पनि बगाएको छ । जसका कारण राजधानीसँग जिल्लाको आवातजावत टुटेको छ ।

२३ राजमार्गका ६८ ठाउँ पूर्ण क्षति भएका छन् भने ३८० ठाउँमा एकतर्फी रूपमा यातायात सञ्चालन गर्न सक्ने अवस्था छ । विभागका अनुसार उपत्यका भित्रिने मुख्य नागढुंगा नाका अवरुद्ध बन्न पुगेको छ । चन्द्रागिरि नपा–२ स्थित नागढुंगामा पहिरो जाँदा उपत्यका भित्रिने पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध बन्न पुगेको हो । त्यसले गर्दा पश्चिमबाट काठमाडौं आउने गाडी बाटोमै अलपत्र छन् । मलेखुमा पनि पहिरो जाँदा पश्चिमको गाडी उतै अलपत्र परेका छन् । नागढुंगामा अलपत्र परेका गाडीहरूलाई शनिबार साँझ नागढुंगा सुरुङमार्फत काठमाडौं प्रवेश गराइएको छ ।

वर्षापछि काठमाडौं उपत्यकाबाट दक्षिणकाली हुँदै हेटौँडा निस्कने सिस्नेरी सडक खण्ड पूर्ण रूपमा अवरुद्ध बन्न पुगेको छ । चिनियाँ नाका जोड्ने अरनिको र पूर्वलाई काठमाडौंसँग जोड्ने बिपी राजमार्ग पनि अवरुद्ध बन्न पुगेको छ । विशेष गरी काभ्रेको धुलिखेल हुँदै साँगा निस्कने अरनिको राजमार्ग पूर्ण रूपमा अवरुद्ध बन्न पुगेको छ । बिपी राजमार्गको करिब २०० मिटर सडक खण्ड बाढीले बगाएको छ । ललितपुरको गोदावरी नपा–४ स्थित लेले–टीकाथली सडक खण्ड पूर्ण रूपमा अवरुद्ध बनेको छ ।

त्यस्तै, धनकुटाको चौबिसे गापा– १ राँके भेडेटार सडक खण्ड, खोटाङ हलेसी तुवाङचुङ नपा–१० स्थित मध्य पहाडी लोकमार्ग, दिप्रुङचुइचुमा गापा– ४ दिक्तेल–गाईघाट सडक खण्ड पूर्ण रूपमा अवरुद्ध बन्न पुगेको छ । इलामको इलाम नपा– ६ र ९ स्थित मेची राजमार्ग पनि पूर्णरूपमा अवरुद्ध बन्न पुगेको छ । उदयपुरको कटारी नपा– १४ सिद्धिचरण राजमार्ग, नवलपरासी पूर्वस्थित बौद्धिकाली गापा– १ र गैँडाकोट नपा– ३ कालीगण्डकी करिडोर पूर्ण अवरुद्ध बन्न पुगेको छ । म्याग्दीस्थित मालिका गापा– ६ बेनी–दरवाङ सडक खण्ड, तनहुँको व्यास नपा– १२ र बन्दीपुर गापा– १ स्थित पृथ्वी राजमार्ग एकतर्फी अवरुद्ध बन्न पुगेको छ । स्याङ्जाको वालिङ नपा– १३ सिद्धार्थ राजमार्ग, पाल्पाको बेगनासकाली गापा र तिनाउ गापा– ५ सिद्धार्थ राजमार्ग पनि पूर्ण अवरुद्ध बन्न पुगेको छ । अर्घाखाँचीको शीतगंगा नपा– २ गोरुसिंगे सन्धिखर्क सडक, रोल्पाको त्रिवेणी गापा– २ रुकुम घोराही सहिद राजमार्ग, गुल्मी छत्रकोट गापा– ३ तम्घास रिडी सडक, दाङको तुलसीपुर उमनपा– ३ दाङ सल्यान सडक र हुम्लाको सर्केगाड गापा– ४ कर्णाली करिडोर पनि पूर्ण अवरुद्ध बन्न पुगेको छ ।

यी हुन् बढी प्रभावित सडक 
विभागका अनुसार नागढुंगा–मुग्लिन, मुग्लिन–पोखरा, नारायणगढ–मुग्लिन, बेनी–जोनसामे, बिपी राजमार्गको काभ्रे र सिन्धुली खण्ड, अरनिको राजमार्गको सिन्धुपाल्चोक खण्ड, पुष्पलाल राजमार्गको सिन्धुली, खोटाङ र ओखलढुंगा खण्ड बढी प्रभावित छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *