मनसुनको वितण्डाः ललितपुरमा मात्रै १६ जनाको शव फेला

अविरल वर्षाका कारण सिर्जित विपत्तिमा परी काठमाडौँ उपत्यकाको ललितपुरमा मात्रै १६ जनाको मृत्यु भएको छ भने ११ जना बेपत्ता भएका छन् ।

जिल्ला प्रहरी परिसर ललितपुरले शनिवार अपरान्ह एकबजेर ३० मिनेटसम्मको विवरणमा १६ जनाको शव फेला परेको जनाएको हो । परिसरका अनुसार जिल्लाका विभिन्न क्षेत्रबाट चारसय १६ जनाको जिवित उद्वार गरिएको छ ।

सशस्त्र प्रहरी बल नेपालले विपद् प्रतिकार्यका लागि एक हजार नौ सय ४७ सुरक्षाकर्मी परिचालन गरेको छ । सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाका अनुसार बाढीपहिरो तथा डुबानमा परी उपत्यकामा २१ जना तथा उपत्यका बाहिर नौ जनाको मृत्यु भएको छ भने ११ जना बेपत्ता भएका छन् । एक सय ६२ स्थानमा भौतिक क्षति भएको छ । सशस्त्र प्रहरीले उपत्यकाका विभिन्न स्थानमा बाढी तथा डुबानमा परेका नागरिकको उद्धारका लागि २३ वटा र्‍याफ्टिङ बोट परिचालन गरेको छ ।
सशस्त्रको टोलीले सात सय ६० जनाको सकुशल उद्धार गरेको सहप्रवक्ता थापाले जानकारी दिए । काठमाडौँमा नौ, ललितपुरमा नौ र काभ्रेपलाञ्चोक र भक्तपुरमा तीन–तीन, पाँचथर र धनकुटामा दुई–दुई, झापा र धादिङमा एक–एक जनाको मृत्यु भएको छ ।

भक्तपुरको मध्यपुरथिमी नगरपालिका–१ लोकन्थलीस्थित सुष्मा बिपी कोइराला नेत्र प्रतिष्ठानमा पानी जमेपछि उपचारारत १८ जना अपाङ्गता भएका बालबालिकालाई उद्धार गरी सुरक्षित स्थानमा सारिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *