अविरल वर्षाः ललितपुरमा ९ जनाको शव फेला, महाङ्कालमा प्रहरी चौकी बग्यो 

अविरल वर्षापछि पहिरो खस्दा ललितपुरको टाहाखेलमा दुई जनाको मृत्यु भएको छ भने गोदावरी नगरपालिका–३ टौखेलमा ढिस्कोले पुरिएर बाबु र छोरीको मृत्यु भएको छ ।
गोदावरी नगरपालिका–१० का वडध्यक्ष शेखर न्यौपानेका अनुसार टाहाखेलमा पहिरोले पुरिएर ५० वर्षीया महिला र आठ वर्षीया बालिकाको मृत्युु भएको छ । गोदावरी–३ का वडाध्यक्ष सानुराजा घिमिरेले गोदावरी–३ टौखेलमा ढिस्कोले पुरिएर बाबु र छोरीको मृत्यु भएको जानकारी दिए । उनका अनुसार गोदावरी कुण्ड नजिकैको घर पहिरोको उच्च जोखिममा रहेको छ ।
महाङ्काल गाउँपालिका–३ मा तीन वटा घरसहित प्रहरी चौकी बाढीले बगाएको महाङ्काल–३ गोटिखेलका वडाध्यक्ष मनोजकुमार पराजुलीले बताए। उनका अनुसार वैतर्णीधाम मन्दिर र प्रहरी चौकी बगाएको छ ।  चौकीका सवारीसाधनसहित तीन वटा घर पनि बगेका छन् । त्यहाँ पाँच जना रहेको र उनीहरु सम्पर्क नरहेको उनले बताए । प्रहरीहरु भने सुरक्षित स्थानतर्फ गएको उनले बताए।
बागमती गाउँपालिका–६ आश्राङमा एउटा गोठ बगाउँदा १६ वटा पशुचौपाया बगाएको वडाध्यक्ष नारायण भोम्जनले जानकारी दिए । हालसम्म सो क्षेत्रमा कुनै मानवीय क्षति नभएको उनले बताए ।  ।
बागमती गाउँपालिका–३ स्थित भट्टेडाँडा प्रहरी चौकीका प्रमुख उद्धव महतका अनुसार कान्ति लोकपथ पूर्ण रुपमा बन्द भएको छ । बागमती पुलमा क्षति भएको छ ।  खानीखोला हाइड्रोपावर डुबानमा परेको छ । बागमती ३ नं वडा कार्यालय जोखिममा छ भने वडा नं ५ का रणबहादुर दर्लामीको घर खोलाले बगाएको छ ।
जिल्ला प्रहरी परिसर ललितपुरका अनुसार हालसम्म विभिन्न स्थानबाट नौजनाको शव फेला परेको छ । यस्तै ११ जना हराइरहेका छन् । यस्तै २८१ जनाको सकुशल उद्वार भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *