नेपालले शान्ति प्रक्रियालाई व्यवस्थापन गर्न सफल भएको छ : मन्त्री राणा

परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले नेपालले आन्तरिक रुपमा द्वन्द्व व्यवस्थापन गरी शान्ति स्थापनाको निर्णायक विन्दुको अन्तिम तयारी गरिरहेको बताएकी छन् ।

राष्ट्रसङ्घीय फोरम शान्ति निर्माणसम्बन्धी फोरमको मन्त्रिस्तरीय बैठकलाई सम्बोधन गर्दै मन्त्री राणाले नेपालको सङ्घीय संसदले हालै मात्रै संक्रमणकालीन न्यायसम्बन्धी विधयेक पारित गरेर पीडितमैत्री कानून बनाएको उल्लेख गरिन् । फोरमले यस वर्ष सन् २०२५ का लागि शान्ति निर्माणको मार्गचित्रको पुनः मूल्याङ्कनः समृद्धि र प्राथमिकता भन्ने शीर्षकमा बैठक आयोजना गरेको थियो ।

मन्त्री राणाले भनिन्, ‘अहिलेको विश्वमा शान्ति निर्माणको प्रक्रिया एक जटिल विषय बन्दै गएको छ, दिगो र समाजको स्थायित्वका लागि द्वन्द्वको वास्तविक कारण पहिचान हुनु पर्दछ ।’ आगामी वर्ष सन् २०२५ को शान्ति निर्माण प्रक्रियाको अवधारणालाई पुनः मूल्याङ्कन गरेर यसलाई दिगो र सक्षम तरिकाले अगाडि बढाउन जरुरी रहेको उनको भनाइ थियो ।

मन्त्री राणाले शान्ति निर्माण कमिसनले रणनीतिक रुपमा सुरक्षा परिषद्, महासभा र इस्कोस जस्ता निकायसँग साझेदारी गरेर अगाडि बढनु पर्नेमा सुझाव दिइन् । नेपाल शान्तिका दूत गौतम बुद्धको जन्मस्थल भएको स्मरण गर्दै मन्त्री राणाले सकारात्मक सोच, व्यवहार र संस्कृतिको मूल्य मान्यताका आधारमा शान्ति पूर्ण र हिंसारहित समाज निर्माण ध्यान दिनु पर्नेमा जोड दिइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर