राष्ट्रिय स्वाधीनतामाथि दबाब र हस्तक्षेपहरू बढेका छन् : प्रचण्ड

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले देशमा विदेशी शक्तिकेन्द्रहरूको चलखेल बढेको बताएका छन् ।

बिहीबार काठमाडौंमा आयोजित अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन उद्घाटन समारोहमा बोल्दै अध्यक्ष दाहालले देशमा विदेशी शक्तिकेन्द्रहरूको चलखेल बढ्दै गएको बताएका हुन् ।

उनले संसारभरको वर्तमान राजनीतिक परिस्थिति हेर्दा नेपाल भूराजनीतिको इपिसेन्टर बन्ने अवस्था रहेको बताए । उनले नेपालको राष्ट्रिय स्वाधीनतामाथि दबाब र हस्तक्षेपहरू बढ्दै गएको पनि बताए । प्रतिक्रियावादी शक्तिहरु लोकतन्त्र र संविधानको मूल्य, मान्यतामाथि प्रहार गर्ने गरी अगाडी बढिरहेका उनको भनाई छ । उनले राष्ट्रिय स्वाधीनताको रक्षा वामपन्थी र कम्युनिस्ट शक्तिले मात्रै गर्नसक्ने भन्दै यी शक्तिलाई बलियो बनाउनुपर्नेमा जोड दिए ।

उनले भ्रष्टाचारको विरुद्ध महाअभियान छेडेकै कारण आफू नेतृत्वको सरकार ढलेको बताए । उनले आन्दोलनको बलमा केही महिनाभित्रमा परिस्थिति उल्ट्याउन सकिने विश्वास पनि व्यक्त गरे ।

उनले भने – ‘नेपाल अहिले चलिराखेको भूराजनीतिको इपिसेन्टर हुने हो कि, त्यसको केन्द्रबिन्दु हुने हो कि ? विशाल भारत र चीनको बिचमा हुनुको नाताले र चीनसँगको प्रतिस्पर्धामा पश्चिमी राष्ट्रहरूको बढ्दो प्रतिस्पर्धाका कारणले र दुनियाँभरि चलेका राजनीतिक घटनाक्रमका कारणले स्थिति सामान्य छैन । नेपालको राष्ट्रिय स्वाधीनतामाथि जसरी दबाब र हस्तक्षेपहरू बढ्दै गएका छन् । जसरी प्रतिक्रियावादी शक्तिहरु कुनै न कुनै रूपले लोकतन्त्रका मान्यताहरू, संविधानका मूल्य र मान्यतामाथि प्रहार गर्ने ढंगले अगाडी बढ्दैछन् । त्यसमा विदेशी शक्तिकेन्द्रहरूको पनि चलखेल बढ्दैछ । यस्तो परिस्थितिमा हाम्रो राष्ट्रिय स्वाधीनतामाथि गम्भीर चुनौती खडा भएको छ । यो परिस्थितिमा देशको राष्ट्रिय स्वाधीनताको रक्षा गर्न सक्ने, विदेशी चलखेलका विरुद्ध राष्ट्रिय शक्ति निर्माण गर्न सक्ने भनेको वामपन्थी शक्तिले नै हो । कम्युनिस्ट शक्तिले नै हो । माओवादी केन्द्रले नै हो । जबसम्म यसलाई बलियो बनाइँदैन । हामी राष्ट्रको रक्षा गर्न पनि सकिँदैन । मेरो नेतृत्वको सरकारले रेकर्ड बनाएकै हो । भ्रष्टाचारका विरुद्ध महाअभियान छेडेकै हो । भ्रष्टहरूलाई कारबाहीको दायरामा ल्याएकै हो । नेपालको इतिहासमा यति हाइप्रोफाइल नेताहरू र कर्मचारीलाई एकै साथ कारबाहीको घेरामा आएको कहिल्यै थिएन हामीले गरेकै हो । भुमाफियाका विरुद्ध पनि अभियान छेडेकै हो । यही लडाइको कारण दलालहरू, नोकरशाहहरु र बिचौलियाहरूले तथाकथित सङ्ख्याको बलमा हामीलाई सरकारबाट बाहिरिन बाध्य पारेकै हुन् । म तपाईँहरूलाई अपिल गर्न चाहन्छु तपाईँहरूको साथ भयो भने केही महिना भित्रमै परिस्थिति उल्ट्याइदिन सकिन्छ । जनताको जित सुनिश्चित गर्न सकिन्छ ।’

अध्यक्ष दाहालले वामपन्थी एकताको सन्दर्भमा छिट्टै नै नयाँ खबर सुन्न पाइने बताए । उनले सके सहमतिमा र नसके प्रक्रियामा गएर नेतृत्व चयन गर्न विद्यार्थी नेताहरूलाई आग्रह गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *