स्थानीय तह उपनिर्वाचन : मंसिर २ मा उम्मेदवारी दर्ता, १६ गते मतदान

निर्वाचन आयोगले आगामी मंसिर १६ गतेका लागि तय भएको स्थानीय तहको उपनिर्वाचनको कार्यातालिका सार्वजनिक गरेको छ । आयोगले बिहीबार सार्वजनिक गरेको निर्वाचन कार्यक्रमअनुसार मंसिर २ गते उम्मेदवारी दर्ताको मिति तय गरिएको छ ।

मंसिर २ मा बिहान १० देखि साँझ ५ बजेसम्मका लागि उम्मेदवारी दर्ताको समय तोकिएको आयोगका सहसचिव एवम प्रवक्ता नारायण सापकोटाले जानकारी दिए । उनका अनुसार त्यसै दिन साँझ ५ बजेदेखि ६ बजेसम्म उम्मेदवारको सूची सार्वजनिक गरिनेछ ।

दर्ता भएको उम्मेदवारीमाथि विरोधको उजुरी दिने अवधि मंसिर ३ गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म, त्यसै दिन दिउँसो ३ बजेदेखि ४ गते साँझ ५ बजेसम्म मनोनयमपत्र र उजुरीमाथि जाँचबुझ एवम निर्णय गरेर साँझ ५ देखि ६ बजेसम्म निर्वाचन अधिकतृको कार्यालयमा उम्मेदवारको नामावली प्रकाशन हुनेछ ।

मंसिर ५ गते बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारको नाम फिर्ता लिन सकिने छ भने त्यसै दिन दिउँसो १ बजेदेखि ३ बजेसम्म निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेर दिउसो ३ बजेदेखि ५ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गरिनेछ ।

यस्तै निर्वाचन कार्यतालिका अनुसार मंसिर १६ गते बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म सम्बन्धित मतदान केन्द्रमा मतदान हुनेछ । मतदान सुरु हुनुभन्द ४८ घण्टाअघि अर्थात मंसिर १३ गते राति १२ बजेदेखि प्रचारप्रसाद निषेध अवधि लागू हुने आयोगले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *