ऐतिहासिक रजत पदकसहित स्वदेश फर्किइन् एरिका, भन्छिन्- चोटका कारण स्वर्ण जित्न सकिनँ

एशियन सिनियर कराते च्याम्पियनसिपमा नेपालका लागि ऐतहासिक पदक दिलाएकी एरिका  गुरुङले स्वर्ण जित्ने लक्ष्य भए पनि चोटका कारण सम्भव नभएको बताएकी छन् ।

ऐतिहासिक रजत पदकसहित मंगलवार स्वदेश फर्किएकी एरिकाले त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा घुँडामा चोटका कारण फाइनलमा समस्या भएको बताइन् । एरिकाले आफ्नो लक्ष्य स्वर्ण नै जित्ने भएपनि विपक्षी धेरै राम्रो रहेको बताइन् ।

फाइनलमा बेहोरेको हारले अझै धेरै प्रशिक्षण गर्ने प्रोत्साहन मिलेको उल्लेख गर्दै आफ्नो यात्रामा सहयोग गर्ने सबैलाई धन्यवाद दिइन् । आगामी दिनमा यो भन्दा राम्रो नतिजा ल्याउने उनले विश्वास दिलाइन् ।

मंगलवार त्रिभूवन विमानस्थलमा पदक विजेता एरिका, उनका प्रशिक्षक कुशल श्रेष्ठ र नेपाली टोलीको बाजागाजासहित भव्य स्वागत गरिएको थियो । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङले नेपाली टोलीललाई स्वागत गरेका थिए ।

नेपाल कराँते महासंघ, नेपाल पुलिस क्लव र विभिन्न खेलका खेलाडी नेपाली टोलीको स्वागतमा उपस्थित रहे । सो अवसरमा नेपाली टोलीका प्रशिक्षक कुशल श्रेष्ठले पहिलोपल्ट सिनियर एशियन च्याम्पियनसिपमा जितेको पदक सम्पूर्ण नेपालीमा समर्पित गर्दै फाइनलसम्म एरिकाको प्रदर्शनबारे पनि चर्चा गरेका थिए ।

कुशलले चोटका कारण एरिकाले फाइनलमा अपेक्षाअनुरूप प्रदर्शन गर्न नसकेको र फाइनलमा एरिकाको प्रतिद्वन्द्वी भियतनामकी खेलाडी धेरै अनुभवी रहेकाले पनि स्वर्ण जित्न असफल भएको बताए । प्रशिक्षक कुशलले जित र हार एउटा खेलाडीको जीवनमा आइरहने भएकाले यसलाई शिक्षाको रूपमा लिएर अगाडि बढ्नुपर्ने धारणा राखे ।

सो अवसरमा राखेपका सदस्यसचिव टंकलाल घिसिङले एकपल्ट फेरि एरिकाले आफूलाई प्रमाणित गरेको उल्लेख गर्दै उनले अझै धैरे सफलता दिलाउन सक्ने विश्वास व्यक्त गरे ।

उनले यो सफलतामा प्रशिक्षक कुशल श्रेष्ठको प्रशिक्षण र नेपाल कराते महासंघको व्यवस्थापन सह्रानीय रहेको भन्दै प्रशंसा गरे । सन् २०२६ मा हुने २० औं एशियाली खेलकुदमा कराते नेपालका लागि मेरुदण्ड नै रहेको भन्दै खेलाडीहरूको एक्सपोजरका लागि राखेपले थप लगानी गर्ने प्रतिवद्धता व्यक्त गरे । एरिकासँगै अन्य खेलाडीले सम्भावना देखाएकाले उनीहरूको प्रशिक्षण र अन्तर्राष्ट्रिय प्रतिष्पर्धामा राखेपले सहयोग गर्ने बताएका छन् ।

एरिकाले चीनको हाङझाउमा सम्पन्न २० औं सिनियर एशियन कराते च्याम्पियनसिपमा महिला कुमुते ६८ केजी तौलसमूहमाथि रजत पदक जितेकी थिइन् ।

नेपालका कुनैपनि खेलाडीले यस अघि एशियन सिनियर कराते च्याम्पियनसिपमा पदक जित्न सकेको थिएन । यद्यपि, उनी पहिलो स्वर्ण जित्न भने चुकिन् । यसअघि एरिका चीनकै हाङझाउमै एशियाली खेलकुदमा पहिलो स्वर्ण पदक जित्नबाट चुकेकी थिइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर