उपत्यका बाहिरिने नाकाका सडक अस्तव्यस्त

असोज लागेसँगै नेपालीहरूको सबैभन्दा ठुलो चाड दसैँको रौनक सुरु भएको छ । तर, चाडबाड नजिकिनै लाग्दा उपत्यकाबाट लाखौँ यात्रु बाहिरिने नाकाका सडकखण्ड अस्तव्यस्त छन् । यसपटक पनि दसैँको यात्रा थप जोखिमपूर्ण हुने देखिएको छ ।

कलंकी–नागढुंगा, सूर्यविनायक–धुलिखेल, बालाजु–माछापोखरी सडकखण्डको अवस्था बिजोग छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले १० असोजसम्म सडक मर्मतका लागि सडक विभागलाई अल्टिमेटम दिए पनि अधिकांश मुख्य सडकखण्डमा मर्मतको काम सुरु भएको छैन ।

सोमबार कलंकी–नागढुंगा सडकखण्डमा सवारीसाधनको चाप अत्यधिक देखिन्थ्यो । खाल्डैखाल्डा र हिलैहिलो भएको सडकमा सवारीसाधन बडो असहज तरिकाले गुडिरहेका देखिन्थ्यो । दुईपांग्रे सवारीसाधनमा त यात्रा झनै जोखिमपूर्ण लाग्थ्यो । ५ असोजमा बसेको भौतिक पूर्वाधार तथा यातायातमन्त्रीस्तरीय बैठकमा मन्त्री देवेन्द्र दाहालले सडक विभागलगायत मातहतका निकायलाई समयमै सडक मर्मत गरेर यात्रा सहज पार्न दिएको निर्देशन अलपत्र जस्तै छ ।

सबैभन्दा बढी सवारीसाधनको चाप हुने कलंकी–नागढुंगा नाकाक्षेत्र सरकारी निकायको लापरबाहीका कारण अस्तव्यस्त छ । सडकखण्ड विस्तार गर्ने क्रममा भत्काएर अस्तव्यस्त पारिएको छ । पहिरो खसेका ठाउँहरूसमेत व्यवस्थित बनाइएको छैन । उपत्यकाका विभिन्न नाकाबाट दैनिक ८० हजारहाराहारी सवारीसाधन बाहिरिने अनुमान छ । तर, यी सडकखण्डमा खाल्डाखुल्डीविहीन ठाउँ भेटाउनै कठिन छ ।

हुन त भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले दसैँको वेलामा मुख्य नाका तथा राजमार्गहरूमा सवारीसाधनको अत्यधिक चाप हुने भएकाले त्यसलाई मर्मतसम्भार गर्न सडक विभागलाई एक साताअघि निर्देशन दिएको थियो । १० असोजभित्र सबैजसो राजमार्ग तथा मुख्य सडकमा खाल्डाखुल्डी टाल्ने, कालोपत्रे गर्ने, ग्राभेल बिछ्याउने, गे्रडिङ गर्ने जिम्मा सडक विभागलाई थियो । तर, खाल्डाखुल्डी मर्मत गर्न दिएको समय सकिन दुई दिन मात्रै बाँकी रहँदा विभागले खाल्डाखुल्डी टालेको र मर्मतसम्भार गरेको देखिएन । काठमाडौंको नजिकै पर्ने नागढुंगा–बैरेनी क्षेत्रमा पर्ने सडक सबैभन्दा बेहाल अवस्थामा छ । यहाँ बडेमानमा खाल्डा छन् । सवारीसाधन पनि एकतर्फी रूपमा गुड्ने गरेका छन् ।

विभागका उपनिर्देशक अर्यालका अनुसार हाल विस्तारको क्रममा रहेको सबैजसो राजमार्ग वैदेशिक सहायताअन्तर्गत निर्माण भइरहेका छन् । जसका कारण समयमै काम सक्न र काम लगाउन कठिन छ । नागढुंगा–मुग्लिन, मुग्लिन–पोखरा, मुग्लिन–बुटवल सडकखण्ड पनि वैदेशिक सहायतामा विस्तार भइरहेका छन् । हाल नारायणघाट–दाउन्ने खण्डमध्ये ६० किलोमिटर सडक कालोपत्रे भएको छ । ६ लेनको यो सडक कालोपत्रे भएका ठाउँमा भने सवारीसाधन निर्वाध रूपमा गुड्छन् । तर, काम भइरहेका स्थानमा कठिन हुने गरेको छ ।

सडक विभागको तथ्यांकअनुसार हाल देशभर ८० वटा राष्ट्रिय राजमार्ग छन् । उपत्यकासहित विराटनगर, भरतपुर क्षेत्रका सडक पनि ठुला सडकखण्डमा पर्छन् । त्यसमध्ये हाल देशभरका सबै राजमार्गको करिब चार हजार किलोमिटर सडक बिग्रिएको छ । उक्त सडक मर्मत गर्नुपर्ने अवस्था छ । तर, हालसम्म विभागले मुख्य–मुख्य सडकखण्डको खाल्डाखुल्डी टाल्न चासो दिएको छैन । हाल देशभर सबै राजमार्ग तथा ठुलो सडकखण्डको क्षेत्रफल १५ हजार किलोमिटर छ ।

ठुला सडकखण्ड मर्मत गर्न मन्त्रालयले निर्देशन दिए पनि विभागले सडक मर्मतको काम गर्न सकेको छैन । विभागका महानिर्देशक रामहरि पोखरेलले ठेक्का लाग्न ढिलो भएका कारण मर्मतसम्भार ढिलो भएको बताए ।  नयाँपत्रिका दैनिकमा समाचार छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर