
संस्कृतिमन्त्री पाण्डे र भारतीय राजदूतद्वारा कला प्रदर्शनी अवलोकन


नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान तथा स्वामी विवेकानन्द सांस्कृतिक केन्द्र, भारतीय राजदूतावासको संयुक्त आयोजनामा आजदेखि काठमाडौंको नक्सालमा नेपाल र भारतका कलाकारले तयार पारेका कलाकृतिको प्रदर्शनी सुरु भएको छ ।
‘रामायणः साझा धरोहर’ शीर्षकको प्रदर्शनीको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले उद्घाटन गरे ।
उनीहरूले यस्ता कला प्रदर्शनीले २ देशको संस्कृति आदानप्रदानमा योगदान पुग्ने बताए । सो क्रममा उनीहरूले प्रदर्शनीको अवलोकन समेत गरे ।
नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले पछिल्लो समयमा विभिन्न देशसँग मिलेर कला प्रदर्शनी आयोजना गर्न थालिएको र यसबाट संस्कृति आदानप्रदानसँगै पर्यटन प्रवर्द्धनमा समेत सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
यस्ता प्रदर्शनीनले एकअर्काको कला सिर्जनाको सिकाइ समेत आदानप्रदान हुने र संस्कृति बुझ्ने मौका समेत मिल्ने उनको भनाइ छ । प्रतिष्ठानका सदस्य सचिव देवेन्द्र थुम्केलीले प्रतिष्ठानले देशभित्रै र विदेशमा समेत आफ्नो गतिविधि फैलाउँदै लगेको र यसले ललितकला क्षेत्रलाई रूपान्तरण गर्ने योजना सार्थक बन्दै गएको बताए ।
असोज १४ गतेसम्म हुने प्रदर्शनीमा नेपाली ४ कलाकारका ५ कलाकृति र भारतका ३० कलाकारका ४२ कलाकृति राखिएका छन् । भारतीय कलाकार गार्गी सेठ क्युरेटर तथा डाइरेक्टर रहेको प्रदर्शनीमा कलाकारले रामायण सम्बन्धी चित्र सिर्जना गरेका छन् ।
प्रतिक्रिया