मानार्थ उपरथी गुरुङको ‘आम्बोइ नि’ सार्वजनिक
नेपाली सेनाका अवकास प्राप्त मानार्थ उपरथी भरतचन्द्र गुरुङको स्वरमा तामाङ सेलोको ‘आम्बोइ नि’ बोलको गीत आइतबार यु–ट्युबमार्फत सार्वजनिक गरेको छ ।गायक गुरुङका ९६ वर्षीय पिता अवकाश प्राप्त क्याप्टेन इन्द्रजित गुरुङले एक समारोहबीच उक्त गीत सार्वजानिक गरेका छन् ।
डा. आशबहादुर तामाङको शब्दरचना रहेको गीतमा बद्री शर्माको सङ्गीत संयोजन छ । वरिष्ठ गायिका इन्दिरा गोलेले स्वरमा साथ दिएका छन् । आउँदै गरेको बडादसैँ र तिहारका लागि श्रोता तथा दर्शकलाई उपहार दिने उद्देश्यसहित सार्वजनिक गरिएको गीतका शब्दमा तामाङ सेलोका ठट्टा तथा रमाइलोको संयोजन छ ।
तामाङ जाति र समुदायको मौलिकता कायम राख्दै गीतको छाँयाङ्कनमासमेत नयाँपन दिन खोजेका छन् । गायक गुरुङको औपचारिक रेकर्ड भएको यो पहिलो गीत रहेको छ ।बाल्यकादेखि गीत सङ्गीतमा चासो राख्ने मानार्थ उपरथी गुरुङले सैनिक जीवनमा रहँदा अनौपचारिक रुपमा गीत गाउँदै आएका थिए ।
तामाङ समुदायको इतिहास र परम्परासँग जोडिएको यस गीतले समुदायको जीवन शैली, भावना र अनुभवलाई प्रतिबिम्बित गरेको छ । तामाङ सेलो भाका नेपाली समाजमा खुसी र उत्सवको प्रतीका रुपमा चिनिन्छ ।
प्रतिक्रिया