उपलब्धिको रक्षा गर्नेगरी संविधान संशोधन भए सहयोग गर्न तयार छौँ : नारायणकाजी श्रेष्ठ

नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले अहिलेको उपलब्धिहरूलाई कुनैपनि कोणबाट कुठाराघात नगर्नेगरी संविधान संशोधन गर्न आवश्यक रहेको बताएका छन् ।

आइतबार सिंहदरबारमा संविधान सभा सदस्य परिषद् नेपालको केन्द्रीय तदर्थ समितिले दसौँ संविधान दिवसको अवसरमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले उपलब्धिको रक्षा हुनेगरी संविधान संशोधन भए आफूहरूको पूरा सहयोग रहने बताए । उनले संविधान संशोधन गर्दा संविधान जारी गर्दाखेरि र अहिलेका अनुभवका आधारमा हुनुपर्ने बताए । उनले सबै सहमत भएको अन्तर्वस्तु तर बुँदाहरू, धाराहरू मिलाउँदा नमिलेको कुराहरूमा अहिले सहमति जुटाउन सकिने बताए । उनले संविधानलाई राम्रो र परिष्कृत बनाउन नयाँ अध्याय थप्नेगरी अघि बढ्नुपर्ने बताए ।

वर्तमान सरकार बन्ने प्रसङ्गसँग संविधान संशोधनको विषय आएकाले केही विवाद आएको बताए । उनले समावेशी, समानुपातिक पक्षहरूमा पछि नहट्ने विषयमा सरकार सरकारमा सहभागी राजनीतिक दलहरूले स्पष्ट पारिसकेको भन्दै अब सोहीअनुसार अघि बढ्न जरुरी रहेको बताए ।

उनले भने ‘अहिले सरकारमा रहेको पार्टीले र सरकारले स्पष्ट गरिसकेको छ । हामी समावेशी, समानुपातिक यो पक्षहरूमा हामी पछि हट्दैनौँ भनेर । परिमार्जन र विकास कसरी गर्ने ?अहिलेको उपलब्धिहरूलाई कुनैपनि कोणबाट कुठाराघात नगर्नेगरी परिमार्जन र विकास गर्नेगरी साझा सहमतिका आधारमा संविधान संशोधन गरौँ । त्यसमा हाम्रो सबै सहयोग रहन्छ ।’

वरिष्ठ उपाध्यक्ष श्रेष्ठले उपलब्धिको रक्षा गर्न नेपाली समाज र जनताको आवश्यकता र अपेक्षाअनुसार संविधान परिमार्जन गर्नुपर्ने बताए । उनले प्रतिगमन मुर्दावाद भनेर मात्रै संविधानको रक्षा नहुने बताए । लोकतन्त्र र संविधानको रक्षा गर्न नेपाली जनताले सामाजिक र आर्थिक क्षेत्रको रूपान्तरण गर्नसक्नुपर्ने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *