जबज नेपालको मौलिक राजनीतिक सिद्धान्त हो : कार्यवाहक अध्यक्ष पोखरेल

नेकपा एमालेका कार्यवाहक अध्यक्ष ईश्वर पोखरेलले जनताको बहुदलीय जनवाद (जबज) नेपालको मौलिक राजनीतिक सिद्धान्त भएको बताएका छन् ।

शनिवार ललितपुरको जाउलाखेलमा मदन भण्डारी फाउण्डेसनको रजत जयन्ती अवसरमा गरिएको मदन भण्डारी राष्ट्रिय पुरस्कार हस्तान्तरण कार्यक्रममा बोल्दै पोखरेलले यस्तो बताएका हुन् । उनले मदन भण्डारी फाउन्डेसनले राष्ट्रिय राजनीतिमा सही राजनीति दिशा निर्देश गर्नेगरी अगाडि बढ्नुपर्ने बताए ।

उनले अहिलेका चुनौतीहरूलाई पहिचान गरी वैचारिक हिसाबले दिशानिर्देश गर्ने काममा पनि आगामी दिनमा फाउण्डेशनले योगदान गर्नुपर्ने बताए । उनले नेपालको सन्दर्भमा मार्क्सवादलाई प्रयोग गर्दा विकसित भएको विचार जबज भएको बताए । उनले जबजको विचार कतैबाट सापट लिएको विचार नभई आफ्नै देशमा अभ्यास गरेर विकसित भएको विचार भएको बताए । उनले जनताको बहुदलीय जनवाद स्थापित भएपछि पनि बेलाबेला चुनौतीहरू आउने गरेको बताए ।

उनले भने ‘हामीले के कति उपलब्धि हासिल गर्याैँ , के के हासिल गर्न सकिएन त्यसको मूल्याङ्कन गर्नुपर्छ । मदन भण्डारी फाउण्डेसन पार्टी होइन तर पनि राष्ट्रिय राजनीतिमा सही राजनीति दिशा निर्देश गर्ने विषयमा सूत्रबद्ध रूपमा भुमिका खेल्नुपर्छ । अहिलेका चुनौतीहरूलाई पहिचान गरी वैचारिक हिसाबले दिशानिर्देश गर्ने काममा पनि आगामी दिनमा योगदान गर्नुपर्छ । जनताको बहुदलीय जनवाद चुनौतीहरूको सामना गर्दै यहाँसम्म आएको हो । धेरै कुरा यसका शास्त्रीय पाटाहरू पनि छन् । जननेता मदन भण्डारीलाई सम्मान गर्न मात्र यो विषय गाँसेको होइन । यसमा केही त्यस्ता तत्त्वहरू छन्, नेपालको सन्दर्भमा मार्क्सवादलाई प्रयोग गर्दा विकसित भएको विचार हो भनेर हामीले भन्दा यो विषयमा हामी दृढतापूर्वक वकालत गर्नसक्छौँ । यो विचार कहीँ कतैबाट सापट लिएको विचार होइन । यो विचार आफ्नै देशमा अभ्यास गरेर विकसित भएको विचार हो । मदन भण्डारीले यो विचारको प्रवक्ता र व्याख्याता बनेर कम्युनिस्ट आन्दोलनमा योगदान पुर्याउनुभयो, हामीले त्यो कुरालाई बिर्सनु हुँदैन ।’

उनले अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनका नकारात्मक कुराहरूलाई मनन गरेर विकसित भएको, दर्शन र सिद्धान्तले निकालेका निष्कर्षबाट जनताको बहुदलीय जनवाद सूत्रबद्ध भएको बताए । उनले जबजको आलोकमा समाजवाद उन्मुख हुने बाटोमा मुलुक रहेको बताए । उनले संविधान संशोधन आवश्यक रहेको भन्दै संशोधनको विषय सबैसँग छलफल गरेर सरकार अघि बढ्ने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *