सुनसान‘ रिहार’ धाम

पाँच सय वर्ष पुरानो मानिएको दाङको लमही नगरपालिका-९ स्थित रिहार धाम हिजोआज सुनसान छ। मन्दिरमा दर्शन गर्न मुस्किलले दैनिक एकदुईजना आउने गर्छन्।

यो धामको इतिहास हजारौँ वर्ष पुरानो मानिन्छ। द्वापर युगमा ऋषिमुनिहरूले विहार गरेको स्थलका रूपमा रिहार परिचित छ। द्वापर युुगमा ग्वालाहरूले गाई चराउने र गाईले बगार बाबालाई दूध चढाउने गरेको धार्मिक विश्वास छ। राजमार्गको दायाँ बायाँमा फैलिएको रिहार धाम १०० हेक्टर क्षेत्रफलमा छ। रिहारमा तीर्थाटनका पर्यटकले बगारबाबाको पूजा गर्छन्। बगारबाबा खुशी भएमा सन्तान र धन सम्पत्ति लाभ हुुन विश्वास छ।

रिहारलाई यादव समुदायले आफ्नो पुर्खाको उदगमस्थल मान्दै आएका छन्। जुन कारणले बगारबाबा क्षेत्र यदुवंशीहरूको साँस्कृतिक धरोहरका रूपमा लिने गरेका छन्। अर्को रिहारमा थारू जातिहरूको पनि संस्कृति जोडिएको छ। थारू जातिले रिहार क्षेत्रमा परापूर्वकालदेखि नै गाई चराउने, गोठ राख्ने र बगारबाबाको पूजाआजा गर्दै आएका छन्।

रिहार धाम यादव र थारू जाति दुवैको धरोहर हो। रिहारमा द्वापर युगमा दङ्गीशरण राजा र यदुवंशीको बीचमा घोडीको विषयमा विवाद भएको र विवाद मिलाउनलाई कृष्ण भगवान् रिहार आएको किंवदन्ती छ। त्यहाँ तप्तकुण्ड पनि छ, जहाँ सधैँ तातोपानी हुन्छ। मामाभाञ्जी मन्दिर, घ्यू पोखिएको ठाउँ पनि त्यही छ।

यहाँ बगारबाबासहित भैने पर्शुु, मामीसौरी, बराह झाँक्री मन्दिर, गणेश मन्दिर, शिव मन्दिरजस्ता तीर्थाटन पर्यटकका लागि धार्मिक संरचना रहेका छन्।यहाँ अहिले १० लाखको लागतमा उद्यान पनि निर्माण भइरहेको छ। यसरी संरचना थपिँदै जाने तर पर्यटक नआउने गर्दा स्थानीय चिन्तित छन्। ‘दिनमा दुई-तीन जनामात्र आउँछन्’, स्थानीय सम्झना चौधरीले भनिन्, ‘कहिल्यै त शून्य हुन्छ।’

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर