२०७२ सालको विनाशकारी भूकम्पले ढलाएको धराहरा आधुनिक, सुविधायुक्त र बलियो बनाइएको छ । सो धरहरा अपांगतामैत्री भएकाले उनीहरुलाई पनि चढ्न सहज र सजिलो हुने अपेक्षा गरिएको छ । दुई वर्षमा सक्ने गरी २०७५ साल कार्तिकमा धरहरा पुननिर्माणको काम तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरी शुरु भएको थियो । आधुनिक शैलीमा निर्माण भएको धरहराका लागि जमिन अपुग भएपछि सरकारले गोस्वारा हुलाक, टक्सार विभाग, नेपाल बैंक र सुन्धारा रहेको सबै जमिन एकीकृत रूपमा विकास गरेको थियो । जसका कारण पहिले पाँच रोपनी क्षेत्रफलमा फैलिएको धरहरा ४२ रोपनीमा बिस्तार भएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले तयार पारेको डिजाइनअनुसार गोस्वारा हुलाक भएको ठाउँमा धरहरा प्रवेशद्वार रहेको छ । भित्र छिरेपछि दुई तला भूमिगत छ । भूमिगत तलाबाट लिफ्ट चढेर धरहराको माथिल्लो भागमा पुग्न सकिनेछ ।