पलेशासहित पाराका खेलाडी र प्रशिक्षक सम्मानित

ऐतिहासिक पदक पारा तेक्वान्दोकी खेलाडी पलेशा गोवद्र्धन र प्रशिक्षक कविराज नेगी लामा नगद पुरस्कारसहित सम्मानित भएका छन् ।

राष्ट्रिय पारालिम्पिक कमिटी नेपालको २५ औं वार्षिकोत्सवको अवसरमा पारा तेक्वान्दो र पौडीको खेलाडीसहित प्रशिक्षक सम्मानित भएका हुन् । उनीहरूलाई यसअघि नै एनसेएलले नगद पुरस्कारसहित सम्मान गरेको हो । एनसेल पलेशालाई १० लाख, उनका प्रशिक्षक लामालाई तीन लाख र पेरिस पारालिम्पियन तेक्वान्दोकै भरतसिंह महतालाई एक लाख रुपैयाँ प्रदान ग¥यो । पौडीका पारा खेलाडी भीमबहादुर कुमाल र उनका प्रशिक्षक विजेनमान श्रेष्ठ पनि एक लाख रुपैयाँसहित सम्मानित भए ।

सोही अवसरमा राष्ट्रिय पारालिम्पिक कमिटी नेपालले यस अघिका विभिन्न समयका पारालिम्पियनलाई पनि सम्मान गरेको थियो । उनीहरूलाई युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी, सदस्यसचिव टंकलाल घिसिङ र राष्ट्रिय पारालिम्पिक कमिटी नेपालकी अध्यक्ष राधा घलेलगायतले सम्मान गरेका हुन् । सो अवसरमा पलेशाले पारालिम्पिकमा पदकसँगै पारा खेलाडीप्रति सबैको ध्यान गइरहेको र नीजि क्षेत्रले सहयोग गरे सफलता सम्भव हुने बताए । साथै उनले आफूमाथि विश्वास राखे मात्र सफलता प्राप्त हुने भएकाले सोही लक्ष्य राख्न अनुरोध गरे ।

खेलकुदमन्त्री चौधरीले जापानमा हुने एशियन गेम्स र अमेरिकामा हुने आगामी पारालिम्पिकलाई लक्षित गरेर अहिले देखि नै तयारी गरे ऐतिहासिक सफलता सम्भव रहेको बताए । उनले सबै खेल संघहरू विद्यमान ऐनअनुरूप चल्न आग्रह समेत गरे ।

राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङले सबै खेलकुद संघले पारा खेलकुदबारे नीति निर्माण र योजना बनाएर अगाडि बढ्न आग्रह गरे । साथै उनले पारा खेलकुदमा रहेको दुई समानान्तर पारा खेलकुद संघलाई मिलेर काम गर्दै एक हुन आवश्यक रहेको बताए ।

उनले परिषद्को आगामी ११८औं बोर्ड बैठकअगाडि नै दुई संघबीचको विवाद समाधान गर्ने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर