प्रहरीमा बढुवा समितिको अंकभार आधा घटाइदै

प्रहरीमा बढुवा समितिको अंकभार आधा घटाइने भएको छ । नयाँ प्रहरी ऐनको मस्यौदामा समितिको अंकभार आधा कटौती गर्ने तयारी गरिएको हो ।

समितिले दिन पाउने ७.५ अंकबाट घटाएर ३ मा सीमित गरिएको प्रहरीका एक उच्च अधिकारीले बताए । प्रहरी बढुवालाई वैज्ञानिक र पारदर्शी बनाउन बढुवा समितिलाई दिने अंक घटाइएको उनको भनाई छ ।

प्रहरी प्रधान कार्यालयका उच्च अधिकृतहरुसँग हेडक्वार्टरमा लामो छलफलपछि प्रहरी ऐनको केही प्रावधानहरु टुंगो लगाइएको जनाइएको छ ।

गृह मन्त्रालयका एक अधिकारीका अनुसार, मस्यौदामा उल्लेख भएअनुसारका प्रावधान लागू भए सबैभन्दा बढी कार्य सम्पादन मूल्यांकन वापत ५२ अंक प्राप्त हुनेछ । ज्येष्ठता वापत २५, शैक्षिक योग्यतावापत ५, तालिम वापत १० र चुनौतिवापत ५ अंक दिइनेछ ।

मस्यौदामा शैक्षिक योग्यता वापत दिइने अंक घटाइएको छ भने कठिन भौगोलिक क्षेत्रमा काम गरे वापत पाइने अंक हटेको छ ।

सर्वोच्च अदालतमा प्रहरी अधिकृतहरुले दायर गरेको एउटा मुद्दामा बढुवा समितिले दिने अंक स्वच्छाचारी अंक नभएको भन्दै कार्यसम्पादनकै आधारमा दिनुपर्ने भनेको थियो ।

प्रहरी नियमावलीमा एसएसपी र डीआईजी बढुवाका लागि गृह मन्त्रालयका सचिव अध्यक्ष रहने बढुवा समितिको व्यवस्था छ । यसमा प्रहरी महानिरीक्षक सदस्य र प्रहरी महानिरीक्षकले तोकेको प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) सदस्य सचिव हुने भनिएको छ ।

एसपी, डीएसपी तथा इन्स्पेक्टरका लागि भने प्रहरी महानिरीक्षकको अध्यक्षतामा गृह मन्त्रालयका सहसचिव र आईजीपीले तोकेका डीआईजी वा एआईजी सदस्य रहने बढुवा समितिको व्यवस्था छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *