निजी क्षेत्रले सरकारलाई दिएका सुझाव लागू गर्ने हो भने छोटो समयमै देश विकास हुन्छ : अध्यक्ष ढकाल

उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले वर्तमान सरकारले निजी क्षेत्रलाई प्राथमिकता दिएको बताएका छन् ।

काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै सरकारका परिवर्तित नीति निजी क्षेत्रले माग गरे अनुसारको रहेको बताए । उनले निजी क्षेत्रलाई प्रवर्द्धन गर्ने विषयलाई महत्व दिएर निजी क्षेत्रले दिएका सुझावहरु कार्यान्वयन हुँदै गएको बताए ।

अन्य मुलुकमा निजी क्षेत्रलाई समेटेर सँगै गएको बेला नै आर्थिक समृद्धि र विकासले गति लिएको भन्दै उनले निजी क्षेत्रका मागहरु सम्बोधन गर्ने देशहरुले नै छोटो समयमा विकास गरेको बताए ।

अहिले आफूहरुले सरकारलाई निजी क्षेत्रका मागहरु सम्बोधन गर्न आग्रह गरेको र जसमा सरकार सकारात्मक रहेको पनि उनको भनाइ थियो । साथै निजी क्षेत्रका मागहरुमा प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी सकारात्मक रहेको तर कर्मचारीतन्त्रमा पनि सोही सकारात्मकता हुनुपर्ने उनले बताए ।

‘निजी क्षेत्रलाई प्रमोट गर्ने कुराहरुको जुन इस्युहरु छ । निजी क्षेत्रले दिएका सुझावहरु वास्तवमा क्रमशः लागु गर्दै जाने हो भने छोटो समयमा धेरै चिजहरुको एउटा रिजल्ट लिन सकिन्छ । बाहिरतिर हेर्ने हो भने जहाँ आर्थिक समृद्धिको कुराहरु, विकासको कुराहरु भएको छ, त्यहाँ निजी क्षेत्रलाई इन्करेज गरिएको छ । निजी क्षेत्रलाई प्राथमिकता दिइएको छ, निजी क्षेत्रका जायज इस्यु सम्बोधन भएका छन्, र ती देशमा छोटो समयमै द्रूत विकास भएको छ,’ अध्यक्ष ढकालले भने ।

अहिले सरकार र सरकार अन्तर्गतका निकायलाई पनि आफूहरुले त्यहीअनुसार सुझाव दिएको उनले बताएका थिए । उनले भनेका छन्, ‘यसमा के देखिएको छ भने सम्माननीय प्रधानमन्त्री, अर्थमन्त्री र उद्योगमन्त्रीज्युलाई हामीले भेट्दा हाम्रो मागमा उहाँहरु पोजिटिभ हिसावले लागिपर्नु भएको छ । तथापि डाउन द लाइन अझै पूरै उहाँहरुको पोजिटिभ हिसावको कमिटमेन्ट पूरा गर्न तलदेखिकै मेकानिजम (संयन्त्र) सकारात्मक हुनुपर्छ ।’

मुलुकको अर्थतन्त्रमा क्रमशः सुधार हुन थालेको जस्तो देखिए पनि उत्साही हुन नसकिएको ढकालको भनाइ थियो । अध्यक्ष ढकालले बैंकको ब्याजदर घट्दा कर्जा प्रवाह उल्लेख्य हुन नसक्नु अझै वित्तीय असुरक्षाको शंका गर्ने ठाउ बाँकी रहेको पनि बताएका थिए । यस्तो अवस्थामा निजी क्षेत्र सन्तुष्ट भएर बस्ने अवस्था नरहेको भन्दै अध्यक्ष ढकालले सबै सकारात्मक हुने हो भने देश विकासले गति लिने र असुरक्षाको अवस्था हटेर जाने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *