पढाइ स्नातकोत्तर, काम भेडा चराउने !

पढेलेखेका व्यक्तिले ‘जागिर नै खानुपर्छ’ भन्ने ठान्ने नेपाली समाजमा स्नातकोत्तर गरेको व्यक्तिले गोठाले जीवन बिताइरहेको सुन्दा अनौठो लाग्ने नै भयो । कतिपयले त पढेको मान्छेले यस्तो काम पनि गर्छन् भनेर हेयको दृष्टिले पनि हेर्छन् तर केपिलासगढी गाउँपालिका–१ तेराहाका लक्ष्मण साम्पाङ ‘समिप’ लाई त्यसको प्रवाह छैन । उनी पाँच सय बढी भेडाको बथानमै रमाइरहेका छन् ।

राजनीतिक शास्त्रमा स्नातकोत्तर तह उत्तीर्ण साम्पाङले विगत पाँच वर्षदेखि मुन्धुम भेडापालन फार्म दर्ता गरेर व्यावसायिक रूपमा भेडापालन व्यवसायमा रमाइरहेका हुन् । हाल उनको फार्ममा पाँच सयजति उन्नत (बडुवाल) जातका भेडासँगै आफ्नो सुन्दर सपना सजाइरहेका छन् ।

दुःखजिलो गरेर स्नातकोत्तर पढाएको छोरा सरकारी जागिरे होस् भन्ने बुबाआमाको चाहनाविपरीत आफू भेडापालन व्यवसायमा लागेको साम्पाङले बताए । ‘म सानैदेखि स्वतन्त्रतामा रमाउने मान्छे । सरकारी वा अन्य जागिरमा त्यस्तो हुँदैन । राजनीतिशास्त्र पढेको मान्छे राजनीतिमा रुचि हुने नै भयो तर त्यसका लागि आर्थिक अवस्था राम्रो हुनुपर्‍यो नि ! त्यसैले यो व्यवसाय रोजेको हुँ’, उनले भने ।

दिक्तेलस्थित सालपा विकास बैंकबाट ऋण लिएर २० लाखमा उन्नत जातका एक सय ८० भेडा खरिद गरी व्यवसाय सुरु गरेका उनले हाल वार्षिक करिब २० लाख आम्दानी हुने गरेको सुनाए । विसं २०५८ देखि राजनीतिमा समेत सक्रिय ३९ वर्षीय साम्पाङले नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को राजनीति पनि सँगसँग अगाडि बढाएको बताए ।

उनले पार्टीको भ्रातृ सङ्गठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी)को जिल्ला तहदेखि केन्द्रीय सदस्यसम्मको भूमिका निर्वाह गरिसकेका छन् भने हाल पार्टीको केपिलासगढी गाउँपालिका कार्यसमिति सचिव हुन् ।

युवा पुस्तालाई ‘राजनीतिलाई पेसा हैन, सेवा गर्ने माध्यम बनाउनुपर्छ’ भन्ने सन्देश दिन भेडापालन व्यवसाय सुरु गरेको बताउने सम्पाङलाई आफ्नै सहोदर अन्तरे भाइ भैराज साम्पाङले सहयोग गर्दै आएका छन् । यसका साथै उनले स्थानीय दुई जनालाई पनि आफ्नो व्यवसायमा जोडेका छन् ।

‘म, भाइ र स्थानीय पृथीराज राई र कल्याण राई पछिल्लो समय यही व्यवसायमा रमाइरहेका छौँ । चारै जनाले पालैपालो लेकबेँसी, भेडीचोकमा बसेर भेडाको हेरचाह गरिरहेका छौँ’, साम्पाङले भने, ‘हिउँदको समयमा बेँसी क्षेत्रको रावा फाँट तथा स्थानीय बासिन्दाको खेतबारी र वर्षाद्को समयमा लेकाली क्षेत्र मयुङ लगायतका फाँटहरूमा चरनका लागि पुर्‍याउने गरेका छौँ ।’

चारै जना भेडा फार्ममा हुर्किरहेका भेडाका थुम्बा (साँढ) र पाठापाठीसँगै पर्यटकीयस्थल  मयुङ ((झण्डै तीन हजार रोपनी क्षेत्रफलमा फैलिएको) का घाँसे मैदानमा रमाइरहेका भेटिन्छन् । जिल्लाको केपिलासगढी गाउँपालिका–१ फेदी, भोजपुरको टेम्केमयुङ गाउँपालिका–१ तिम्मा र भोजपुरको साल्पासिलिछो गाउँपालिका–५ दोभानेको सिमानामा पर्ने पर्यटकीयस्थल मयुङको मनोरम दृष्यले त्यहाँ पुग्ने जो कोहीको मन लोभ्याउने गर्छ ।

बाह्रै महिना ढकमक्क फुलिरहने विभिन्न प्रजातिका फूल, समथर घाँसे मैदान, प्रयाप्त पानीको स्रोत, जडीबुटी तथा विभिन्न ठाउँको दृष्य देखिने यस ठाउँमा भेडाको बथानले माहोल थप हेर्नलायक हुन्छ । पर्यटकीयस्थल मयुङ समुन्द्री सतहदेखि तीन हजार ३३३ मिटर उचाइमा पर्दछ ।

साम्पाङले भेडाको साँढ, पाठापाठी, मासु, ऊन र घ्यू बिक्रीबाट आम्दानी हुने गरेको बताए । यहाँ भेडाको साँढ ५० हजार, मासु प्रतिकेजी आठ सय, ऊन प्रतिकेजी पाँच सयसम्म र घिउ प्रतिकुरुवा चार हजारसम्म बिक्री हुने गरेको उनले सुनाए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *