सुदूरपश्चिममा अध्यादेशलाई प्रतिस्थापन गर्न बनेको विधेयक पारित
सुदूरपश्चिम प्रदेश सभामा ‘सुदूरपश्चिम प्रदेश सामयिक राजस्व संकलनसम्बन्धी व्यवस्था गर्न बनेको अध्यादेश २०८१’ लाई प्रतिस्थापन गर्न बनेको विधेयक पारित भएको छ ।
प्रदेश सभाको आजको बैठकमा आर्थिक मामिलामन्त्री बहादुरसिंह थापाले उक्त विधेयक पारित गरियोस् भनी प्रस्ताव पेस गरेका थिए । यसअघि बैठकमा उक्त विधेयकमाथि भएको दफावार छलफलमा प्रदेशसभा सदस्य गीतादेवी माल, जानकी ऐर बम र नरेशकुमार शाहीले भाग लिएका थिए ।
छलफलमा उठेका प्रश्नको जवाफ दिँदै आर्थिक मामिलामन्त्री थापाले कुनै पनि कारणले भविष्यमा प्रदेश सभाबाट बजेट पारित हुन नसकेर बजेट शून्यताको अवस्था हुन नदिन यो विधेयक ल्याउनुपरेको बताए ।
यो विधेयक पारित भएसँगै प्रदेशमा राजस्व संकलन गर्न अधिकार प्रदान गर्ने कानुन निष्प्रभावी भएको अवस्थामा कानुन बमोजिम नियमित राजस्व संकलन गरी सेवा सञ्चालन गर्न पाउने कानुनी बाटो खुलेको छ ।
गएको साउन २९ गतेको प्रदेशसभा बैठकले प्रदेश सरकारले ल्याएको ‘सुदूरपश्चिम प्रदेश सामयिक राजस्व संकलनसम्बन्धी अध्यादेश २०८१’ लाई स्वीकृत गरेको थियो ।
तत्कालीन सरकारले असार १ गते प्रदेशसभामा प्रस्तुत गरेको बजेट पारित हुन नसक्दा आर्थिक वर्ष २०८१/८२ को सुरुदेखि रोकिएको सरकारको राजस्व संकलन लगायतको काम यो अध्यादेश जारी भएसँगै सञ्चालन आएको थियो ।
सत्तासमीकरण फेरिएसँगै नेपाली काँग्रेसका नेता कमलबहादुर शाहको नेतृत्वमा गठन भएको नयाँ सरकारले सोमबार चालु आर्थिक वर्ष २०८१/८२को बजेट प्रदेशसभामा प्रस्तुत गरिसकेको छ ।
प्रतिक्रिया