उपसभामुखबारे प्रधानमन्त्रीको टिप्पणी- प्रस्ताव नै नआएको विषयलाई अनावश्यक उचालियो

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा रानाको विषय अनावश्यक रुपमा उचालिएको टिप्पणी गरेका छन् ।

संसदमा प्रस्ताव नै नआएको, छलफल पनि नभएको विषयमा उपसभामुख रानाको विषयमा संसदमा उत्पातै भएको विषय आफूले बुझ्न नसकेको प्रधानमन्त्री ओलीले बताए ।

उपसभामुख इन्दिर रानालाई हटाउने विषयमा सत्तापक्ष र प्रतिपक्ष दलका सांसदहरुबीच चर्काचर्की नै भएको थियो । प्रधानमन्त्री ओलीले सोही विषय सोमवारको प्रतिनिधि सभा बैठकमा उल्लेख गर्दै प्रस्ताव नै नआएको विषयमा कसरी छलफल भयो भनि प्रश्न समेत गरे ।

कहीँ कसैले बाहिर भनेको विषयलाई लिएर संसदमा गालीगलौजको शैलीमा प्रस्तुत हुने कुरा शोभनीय नभएको भन्दै प्रधानमन्त्री ओलीले बोली र व्यवहारमा आँच आउने खालका काम नगर्न पनि सांसदहरुलाई आग्रह गरे ।

उनले भने,‘म सम्मानीय सभामुख मार्फत सबैलाई भन्न चाहन्छु–उठदै नउठेका कुराहरुमा, प्रस्तावै नआएका कुराहरुमा छलफल कसरी चलेको हो ? त्यो मैले बुझेको छैन । प्रस्ताव पनि आएको छैन, छलफल पनि भएको छैन । कसैले विषय उठान नै गरेको छैन । उठाननै नगरेका विषयमा उत्पातै भयो त । म त हेरिराखेको थिए– के भएको होला ? उठाएकै छैन । अव कुनै विषयमा कसैले उठाएको विषयमा आजै थुप्र्रै विषय उठेका छन । त्यो विषयमा कसैले के हो भनेर छलफल गर्‍यो भने त्यो छलफल पनि संसदमा आएर भएको होइन । कहीँ कसैले कुरा गरेको रे भनेको सुन्दा के कुरा गरेका थियौ, किन यस्तो कुरा गर्‍यौं ? ए बाबा, कस्तो हो त्यो ? संसदमा कुरा उठ्छ । के रहेछ भनेर मान्छेले सोध्न पनि नपाउने ? अनि जेण्डरलगायतका आदि कुराहरु उचालेर अनि गाली गलौजका भाषाहरु । साथीहरु थुप्रैले राखिसक्नु भयो । हामी एउटा बोलौ ठिक छ । आलोचना गरौँ । तर भाषाको सीमा हुन्छ । हामी सभ्य नेपाली समाजका छानिएका सभ्य प्रतिनिधिहरु हौ । हाम्रा क्रियाकलापमा, बोली व्यवहारमा, समाजले एउटा नमूनाको रुपमा खोज्ला नि प्रतिविम्व । आफ्नो शिष्टताको, सभ्यताको, मर्यादाको प्रतिविम्व सांसदहरुबाट आयो भन्ने ठान्नुपर्ला नि । अभिव्यक्तिमा त्यो आयो भन्ने ठान्नुपर्ला । त्यसोभएर म अहिले त्यता धेरै नजाउँ ।’

प्रधानमन्त्री ओलीले सांसदहरुका सामाजिक क्रियाकलापको प्रभाव समाजमा पर्ने भएकाले ख्याल गरेर अघि बढ्नुपर्ने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *