प्रचण्डले जनतामा भ्रम छर्ने अभिव्यक्ति दिँदै हिँड्न थाले : काँग्रेस सांसद श्रेष्ठ

सत्तारुढ नेपाली काँग्रेसका राष्ट्रिय सभाका सांसद किरणबाबु श्रेष्ठले सय दिन पनि नपुग्दै सरकारको विरोध नगर्न प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी) केन्द्रलाई आग्रह गरेका छन् ।

प्रजातान्त्रिक मुुलुकहरुमा सय दिन पनि नपुग्दै सरकारको विरोध गर्नु, उसको काममा अवरोध गर्ने प्रयास गर्नुलाई उचित मान्न नसकिने उनको भनाई थियो ।

आईतवार राष्ट्रिय सभा बैठकमा विशेष समय लिएर बोल्दै सांसद श्रेष्ठले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सत्ताबाट बाहिरिने बित्तिबै जथाभावी बोल्ने काम गरेको भन्दै आपत्ति जनाए ।

दाहालले मुलुक वंगलादेश र श्रीलंका हुने चेतावनी दिएर जनतामा भ्रम छर्ने प्रयास गरेको जिकिर गर्दै सांसद श्रेष्ठले अभिव्यक्ति स्वतन्त्रताको नाममा जथाभावी बोल्दै हिँड्ने काम नगर्न पनि चेतावनी दिए ।

उनले भने– ‘हिजोसम्म सत्तामा छौं । हिजोसम्म सरकारमा छौं । सरकारबाट निस्कन पाएको छैन–बंगलादेश र श्रीलंका भन्छौं । अनि त्यसको हिजोसम्मको दोषको भागी लिने न नलिने ? यस्ता अभिव्यक्तिहरुले नेपाली जनतामा भ्रम सृजना गर्छ । त्यो भ्रम सृजना गर्ने काम हामी नगरौं । प्रजातन्त्र भनेको अभिव्यक्ति स्वतन्त्रता हो । स्वच्छन्दता होइन । जे मन लाग्यो, त्यही बोल्ने किसिमको स्वच्छन्दता होइन । त्यसमा विषयमा पनि हामी सबै पक्ष जिम्मेवार हुनपर्छ भन्ने मलाई लाग्छ । त्यस्तै अहिले गठबन्धनको सरकार बनेको सय दिन पनि पुगेको छैन । सय दिन नपुग्दै यहाँ विभिन्न किसिमको विरोध, बाधा, अवरोधहरु सृजना गर्न थालिएको छ । यो प्रजातन्त्रका लागि राम्रो सन्देश पनि होइन । त्यो तर्फ पनि हामीे ध्यान दिउँ भन्ने मलाई लाग्छ ।’

सांसद श्रेष्ठले आफू सरकारमा हुँदा भएको गल्तीको जिम्मेवारी दाहालले पनि लिनुपर्ने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *