प्रहरीलाई थप ऊर्जाशील, व्यावसायिक बनाउन प्रयत्नशील छौँ : गृहमन्त्री लेखक

गृहमन्त्री रमेश लेखकले नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई ऊर्जाशील र थप व्यावसायिक बनाउन प्रयत्नशील रहेको बताएका छन् । आइतबार बिहान राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठानमा आयोजित सि.स. १६ (क) सशस्त्र प्रहरी सहायक निरीक्षक आधारभूत तालिमको दीक्षान्त समारोहमा बोल्दै गृह मन्त्री लेखकले उक्त कुरा बताएका हुन् ।

सुरक्षा निकायलाई समय अनकुल थप सुदृढ तथा सबल बनाउन विद्यमान ऐन, कानून परिमार्जन गर्न विधेयकको कामअघि बढेको पनि उनले बताए ।

नेपाल प्रहरी र सशस्त्र प्रहरीको नयाँ कानुन निर्माणका लागि विधेयकअघि बढाइएको जानकारी दिँदै गृह मन्त्री लेखकले राज्य र जनताको सेवा तथा सुरक्षाका निम्ति सीमा सुरक्षा, मुलुकको आन्तरिक सुरक्षा व्यवस्थापन, राजश्व चुहावट नियन्त्रणलगायतका क्षेत्रमा पुर्‍याएको योगदानका कारण सरकारको भरोसाको केन्द्रका रूपमा सुरक्षा निकाय रहेको बताए । राज्यको आन्तरिक व्यवस्थामा सशस्त्र प्रहरी बलले पुर्‍याउँदै आएको योगदानका कारण यो संगठन अब्बल सुरक्षा निकायका रूपमा स्थापित भएको लेखकको भनाइ थियो ।

‘स्थापनाकालदेखि नै अत्यन्तै कुशलतापूर्वक आफ्नो जिम्मेवारी पूरा गरी राष्ट्रिय सुरक्षामा गर्विलो उपस्थिति कायम सशस्त्र प्रहरी संगठनले गरेको छ,’ उनले भने, ‘जिम्मेवारी सम्पादन गर्ने सिलसिलामा प्रदर्शन गरेको उच्च कार्यक्षमताका कारण नागरिकको अभिन्न सहयोगी संगठन बनेको छ ।’ परिवर्तित राजनैतिक, सामाजिक, आर्थिक तथा सुरक्षा वातावरण अनुसार मुलुकमा शान्ति सुरक्षा कायम राख्ने कार्य अत्यन्त जटिल एवं चुनौतीपूर्ण रहेको बताउँदै लेखकले त्यसका लागि राज्यले व्यावसायिक तथा दक्ष जनशक्तिसहितको सुरक्षा निकायहरूको प्रबन्ध गरेको धारणा राखे ।

सशस्त्र प्रहरीले आफ्नो जनशक्तिलाई पेसागत रूपमा दक्ष एवं क्षमतावान् बनाई राज्यप्रदत्त जिम्मेवारी त्रुटिरहित ढंगबाट सम्पादन गर्न सक्ने बनाउन विभिन्न किसिमका आधारभूत तथा उन्नत तालिमहरू सञ्चालन गरिरहेको बताए । उक्त समारोहबाट ६८ जना सशस्त्र प्रहरी सहायक निरीक्षक दीक्षित भएका छन् । समारोहमा गृहमन्त्री लेखकसँगै गृह सचिव गोकर्णमणि दुवाडी, सशस्त्र प्रहरी बलका प्रमुख सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, नेपाल प्रहरीका प्रहरी महानिरीक्षक वसन्त बहादुर कुँवरलगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *