यस पटकको विद्याभूषण र विद्यापदक पनि उधारोमै

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले यस पटक पनि नेपाल विद्याभूषण, नेपाल प्रविधि विद्याभूषण र नेपाल छात्रा पदक उधारोमा वितरण गर्ने भएको छ ।

विगतमा शिक्षा दिवसको दिन विशेष कार्यक्रम गरेर वितरण गर्दै आएका ती पदक पाउन योग्य ठहरिएका व्यक्तिहरूको नामावली मन्त्रालयले आफ्नो वेबसाइटमा मात्रै राख्ने निर्णय गरेको छ । स्रोत अभावमा गत वर्ष पनि मन्त्रालयले ती पदक वितरण गरेको थिएन । त्यसभन्दा अघि पनि कोरोनालगायतका कारण पदक वितरण हुन सकेको थिएन ।

सरकारले असोज २ गते राष्ट्रिय शिक्षा दिवस मनाउँदै आएको छ । उक्त दिन मन्त्रालयले नेपाल विद्याभूषण ‘क’, ‘ख’ र ‘ग’, नेपाल छात्रा विद्यापदक ‘क’ र ‘ख’ तथा नेपाल प्रविधि विद्याभूषण पदक वितरण गर्ने गरेको थियो । मन्त्रालयले गत २०८० भदौ ३१ गते ९६२ जनालाई नेपाल विद्याभूषण, नेपाल छात्रा विद्यापदक र नेपाल प्रविधि विद्याभूषण प्रदान गर्ने भनी नाम सार्वजनिक गरेको थियो । स्रोत व्यवस्थापन हुन नसक्दा ती सर्वोत्कृष्ट विद्यार्थीलाई हालसम्म पुरस्कृत गरिएको छैन ।

मन्त्रालयले यस पटक पनि सोही दिन पदक वितरण गर्ने भन्दै पदक लिन योग्य व्यक्तिहरूबाट आवेदन आह्वान गरेको थियो । गत वर्ष बाँकी रहेको ९६२ जनासहित यस पटक थप तीन सय जनालाई पदक वितरण गर्नुपर्ने देखिएको मन्त्रालयको विद्यालय शिक्षा शाखाले जनाएको छ ।

मन्त्रालयका अनुसार पदकका लागि ६० लाख रुपियाँ बजेट छुट्याइएको छ तर गत वर्षसम्म बाँकी रहेका र यस पटक वितरण गर्नुपर्नेसमेतलाई वितरण गर्नुपर्ने पदकका लागि छ करोड रुपियाँभन्दा बढी लाग्ने मन्त्रालयको अनुमान छ । मन्त्रालयका उपसचिव परशुराम तिवारीले शिक्षा दिवसका दिन ती पदक वितरण नगरिने निर्णय भएको बताए । शिक्षा दिवसका दिन वितरण हुन नसक्ने पदक केही समयपछि शिक्षासँग सम्बन्धित कुनै दिवस वा सन्दर्भ पारेर प्रदान गरिने बताए ।

मन्त्रालयले विद्यावारिधि उपाधि हासिल गरेकालाई नेपाल विद्याभूषण ‘क’ बाट, स्नातकोत्तर तहमा सर्वोत्कृष्ट हुनेलाई नेपाल विद्याभूषण ‘ख’ बाट, स्नातक तहमा सर्वोत्कृष्ट हुनेलाई नेपाल विद्याभूषण ‘ग’ वितरण गर्दै आएको छ ।

त्यस्तै स्नातक तहमा सर्वोत्कृष्ट हुने छात्रालाई नेपाल छात्रा विद्यापदक ‘क’ बाट, कक्षा १२ को परीक्षामा सर्वोत्कृष्ट हुने छात्रालाई नेपाल छात्रा विद्यापदक ‘ख’ बाट र प्राविधिक शिक्षामा स्नातक वा सोभन्दा माथि सर्वोत्कृष्ट हुनेलाई नेपाल प्रविधि विद्याभूषणबाट पुरस्कृत गर्ने व्यवस्था छ । नेपाल प्रविधि विद्याभूषण गत वर्ष नयाँ थपिएको हो र कृषि, पशु विज्ञान, चिकित्साशास्त्र, इन्जिनियरिङ, वन विज्ञान एवं विज्ञान तथा प्रविधि विषयमा सर्वोत्कृष्ट हुनेलाई यो पुरस्कार उपलब्ध गराइन्छ ।

तर विगतदेखि पदक वितरण गर्न नसकिएको र पर्याप्त बजेटसमेत नभएका कारण यो कार्य अनिश्चित जस्तै देखिएको छ । गोरखापत्र दैनिकमा समाचार छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर