ओलीको दाबी- एमालेले ०८४ मा बहुमत ल्याउँछ, माओवादी राष्ट्रिय पार्टीसम्म बन्ला

प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले एमालेसँग मिशन–२०८४ एकल बहुमत ल्याउने बलियो आधार रहेको दाबी गरेका छन् ।

शनिवार एमालेले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन् । प्रधानमन्त्री ओलीले एमालेसँग अहिले मिशन २०८४ मा एकल बहुमत ल्याउने आधार भएकाले त्यसलाई सफल पार्नका लागि सम्पूर्ण शक्ति परिचालन गर्न पनि नेता कार्यकर्तालाई निर्देशन दिए ।उनले माओवादी केन्द्रको भने आगामी निर्वाचनमा राष्ट्रिय पार्टी मुस्किलले भन्ने जिकिर गरे ।

माओवादी केन्द्रले विगतमा निर्वाचनहरुमा जनताको विश्वास गुमाउँदै गएको उल्लेख गर्दै आगामी निर्वाचनमा ४/५ लाख ल्याएर राष्ट्रिय पार्टीसम्ममा अडिएला कि भन्ने ओलीको जिकिर थियो । उनले राष्ट्रिय स्वतन्त्र पार्टीलाई खन्चुवा पार्टीको रुपमा चित्रण गरे ।

प्रधानमन्त्री ओलीले भने– ‘अहिले हाम्रो अगाडि मिसन–२०८४ लाई सफल पार्ने, मिसन २०८४ मा एकल बहुमत मज्जाले ल्याउन सक्ने आधारहरु छन् । म त्यो आधारहरुको अहिले अहिले धेरै व्याख्या गर्न चाहन्न । आधारहरु छन् हामीसँग । बलिया आधारहरु छन् । यतिबेलै हामीले आफ्नो सारा सामथ्र्य लगाउनु पर्दछ । र, सिशन २०८४ लाई सफल पार्नु पर्दछ । मिशन २०८४ सफल भएन भने पनि ५ वर्षमा अर्को आउँछ भन्दा ५ वर्ष भित्र के के हुन्छ ? के परिवर्तन हुन्छ, को को कहाँ के हुन्छ, कसो हुन्छ ? त्यो बेग्लै कुरा हो । जनतामा यदि विश्वास हरायो भने मैले एउटा देखेको थिए–स्थापित एउटा पेपरमा हिजो मात्रै होला । माओवादीको १९ लाख भोट भोट कहाँ गयो भन्ने ? गम्भिर प्रश्न, विश्लेषण थियो । मैले हिजो एउटा पत्रिकामा हेरेको थिए । एउटा चुनावमा ३१ लाख भोट आउँछ । अर्को चुनावमा पुग्दाखेरी १८ लाख जति आउँछ । अर्को चुनावमा पुग्दाखेरी १३ लाख आउँछ । अर्को चुनावमा पुग्दाखेरी ११ लाख आउँछ । अव अर्को चुनावमा पुग्दाखेरी ४/५ लाख आउँला कि । राष्ट्रिय पार्टीसम्ममा अडिएला कि । अवस्था त्यो छ । अब यसको साढे ३ वर्षपछि लेख्दाखेरी ऊसले यसमा कम्सेकम ६/७ लाख भोट घटाएर लेख्नुपर्नेछ । नभएका पार्टी जन्मिए । भाडाका भात छैन खै ? भन्दा ती जन्मेका खन्चुवाहरुले खाए होलान् नि । खानै जन्मिएकाहरु छन् । अनि तिनका मुखमा चाहीँ कसरी गाँस पस्यो त । त्यस्तै उस्तै त होला नि ।’

प्रधानमन्त्री ओलीले जनताको हितमा काम गर्ने पार्टीहरुलाई मात्रै नेपाली जनताले विश्वास गर्ने पनि बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर