चारबुँदे सहमतिपछि गाउँपालिका अध्यक्ष यादवले तोडे अनशन

नवलपरासी पश्चिमको प्रतापपुर गाउँपालिका अध्यक्ष उमेशचन्द्र यादवले अनशन तोडेका छन्।

हुलाकी राजमार्गको निर्माण समयमै सम्पन्न गर्ने विषयमा सहमति जुटेपछि गएराति उनले अनशन तोडेका हुन्। अध्यक्ष यादवले गत शुक्रबार दिउँसोदेखि अनशन सुरु गरेका थिए।

चारबुँदे सहमतिपत्रमा अध्यक्ष यादव र हुलाकी राजमार्ग योजना कार्यालय कपिलवस्तुका प्रमुख हेमबहादुर एसीले हस्ताक्षर गरेका छन्।

उक्त सहमतिपछि लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री भूमिश्वर ढकालले जुस खुवाएर अध्यक्ष यादवको अनशन तोडाएका हुन्।

सहमतिअनुसार आगामी असोज २ गतेदेखि तीव्रगतिमा निर्माण सुरु गरी दसैँ अगाडि गोपिगञ्जदेखि बेलाटारी क्षेत्रमा पर्ने तीन किलोमिटर बेस निर्माण गर्ने र दसैँ लगत्तै उक्त क्षेत्रमा कालोपत्र सुरु गर्ने उल्लेख छ।

साथै निर्माण व्यवसायीलाई तत्काल कार्यतालिका पेस गर्न लगाइ थप गरिएको समय २०८१ साल चैतसम्म बेलाटारीसम्मको सडकखण्डलाई विशेष प्राथमिकता राखी निर्माण सम्पन्न गर्ने सहमतिमा उल्लेख छ।

सहमतिअनुसार काम नभए प्रमुख जिल्ला अधिकारीले निर्माण व्यवसायी ब्रजगुरु महालक्ष्मी जेभी कम्पनीलाई कारबाही गर्ने र ठेक्का रद्दको प्रक्रिया अगाडि बढाइनेछ।

त्यसैगरी सहमतिपत्रमा हुलाकी आयोजनाअन्तर्गत पर्ने बेलाटारी-कठहवासम्मको सडक निर्माणलाई तीव्रताका साथ समयावधिभित्र सम्पन्न गर्ने उल्लेख छ।

प्रदेश सरकार मातहतमा रहेका अलपत्र सडक आयोजनाहरू समयमै सम्पन्न गर्नका लागि सबै राजनीतिक दलका प्रमुखहरूले पहल गर्ने समेत प्रतिबद्धता जनाइएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर