दक्षिणकालीको टाटेसिमी र अकबरे खुर्सानी कतारमा

उपत्यकाको कम बजेट भएको र उद्योगधन्दासमेत खासै नभएको नगरपालिकामा गनिने दक्षिणकाली नगरपालिका खाडी राष्ट्र कतारमा तरकारी निर्यात गर्ने पहिलो नगरपालिका बन्न पुगेको छ । स्थानीय किसान प्रकाश बलामीका अनुसार बिहीबार २० जना किसानको रैथाने कृषि उपज टाटेसिमी कुल सात सय किलोग्राम र अकबरे खुर्सानी कतारतर्फ पठाइएको छ ।

‘यसरी बाहिर पठाउँदा स्थानीय बजारमा पठाएभन्दा बढी मेहनत र खर्च लागे पनि राम्रो भाउ पाइन्छ’, किसान बलामीको भनाइ छ । नगरपालिकाको वडा नं ९ स्थित आफ्नै १३ रोपनी र भाडामा लिएको सात रोपनी गरी २० रोपनी जमिनमा कृषिकर्म गरिरहेका बलामीले जग्गाको अधिकांश भागमा टाटेसिमी नै लगाएका छन् ।

‘गाईवस्तुको मल हाल्दा धेरै र लामो समयसम्म फल्दोरहेछ’, बलामीको अनुभव छ । साउनबाट फल्न सुरु गर्ने टाटेसिमी कडा तुषारोले नभेटेमा माघसम्म नै फलिरहने उनको भनाइ छ ।

कृषिमा निर्यात गर्दै आएका संस्थाहरूले टाटेसिमीको निर्यात सम्भावना देखेपछि दक्षिणकालीका किसानलाई सो बाली लगाउन प्रोत्साहन गरेका थिए । प्रायः काउली र काँक्रो लगाइरहेका किसानले पनि दुवै बालीमा रोग कीरा बढ्न थालेपछि वैकल्पिक बाली खोजिरहेका थिए । यस्तैमा ललितपुरस्थित कृषि विकास कार्यालयले किसान समूहलाई तीन लाख अनुदान दिएको जानकारी पनि उनले दिए । तरकारी निर्यातका लागि भने एक एग्रोजस्ता संस्थाले किसानलाई सघाउँदै आएका छन् ।

‘अब नासपाती र लप्सी पनि निर्यात गर्न पाए हुने थियो,’ बलामी थप्छन् । कोरोनाकालमा ‘लकडाउन’का कारण लाखौँका लप्सी खेर गएको पनि उनले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर