उडान कम हुँदा भोजपुरबाट काठमाडौँ आउने यात्रु मारमा

भोजपुर नगरपालिका- १२ टक्सारमा रहेको जिल्लाको एक मात्र विमानस्थलमा कुनै समय हप्तामा सात दिन नै उडान हुने गर्थ्यो। यहाँबाट विराटनगरसमेत उडान हुने गरेकामा अहिले भने भोजपुर-काठमाडौँ हप्तामा बुधबार र शनिबारमात्र उडान हुँदै आएको छ। भौतिक पूर्वाधारको समस्या नरहे पनि उडान हुँदैन।

नेपाल वायुसेवा निगम भोजपुरका प्रमुख प्रकाश खड्काका अनुसार केन्द्रबाट पठाउने गरिएको तालिकाअनुसार उडान भर्नुपर्छ। अहिले भोजपुरमा हप्तामा दुईमात्र उडान हुँदै आएको छ। भोजपुर विमानस्थलमा सरकारी ध्वजावाहक वायुसेवा निगमको जहाजले मात्र उडान गर्दै आइरहेको छ।

विमान अभाव देखाउँदै निगमले उडान तालिका कम पठाउँदा यो समस्या देखिएको हो। उडान कम हुँदा भोजपुरबाट काठमाडौँ जाने यात्री मारमा परेका छन्। ‘घाँसेमैदान हुँदा भोजपुरमा नियमित उडान थियो, विमानस्थल र सडक कालोपत्र भएपछि त उडान तालिका पनि धेरै हुनुपर्नेमा कम हुँदै गएको छ’, स्थानीय सञ्जीव कार्कीले भने।

टर्मिनल भवन जीर्ण हुँदा समस्या भएको गुनासो आएपछि पूर्वमन्त्री सुदन किरातीको पहलमा बजेट विनियोजन भएर हाल ठेक्का प्रक्रियाबाट आरबी अर्बान विल्डर्स एण्ड सप्लायर्सले विमानस्थलको टर्मिनल भवन निर्माण गरिरहेको छ। पाँच करोड ४५ लाख लागत सम्झौता रहेको टर्मिनल भवन २०८१ पुससम्ममा निर्माण सम्पन्न गर्नेगरी काम भइरहेको छ ।

विमानस्थलका लागि करोडौ रकम खर्च भइसक्दा समेत उडान तालिका बढ्न नसक्नु जिल्लाकै लागि दुर्भाग्य भएको स्थानीय घमचन्द्र दाहालले बताए। भोजपुर सदरमुकामबाट टक्सार विमानस्थलसम्मको सडक कालोपत्र छ। जिल्लामा नै पहिलो आस्फाल्ट (मिश्रित) प्रविधिबाट पूर्वाधार विकास कार्यालयमार्फत प्रदेश सरकारको १६ करोड ९२ लाख रुपैयाँ लागतमा सडक कालोपत्र भएको थियो । रायमाझी-जगदम्बा-मार्सेली जेभीले निर्माण गरेको सो सडकको लम्बाइ पाँच किलोमिटर छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *