मेरो उमेर पुगिसक्यो, अब नयाँ बन्ने नेताहरूले सोच्नुस् : देउवा

नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले अरु राजनीतिक दललाई कमजोर बनाउने नीतिअनुसार वर्तमान सरकार निर्माण नभएको बताएका छन् ।

बिहीवार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित उत्कृष्ट नगरपालिका र गाउँपालिकालाई सम्मान कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

नेकपा (माओवादी केन्द्र)प्रति लक्षित गर्दै उनले दुई ठूला राजनीतिक दल मिलेपछि अरु पार्टीलाई सिद्ध्याउने हुन् की भन्ने भय पालेर नराख्न आग्रह गरे ।

उनले कुनैपनि पार्टीलाई सिद्ध्याउने र कमजोर पार्ने नीति काँग्रेस र एमालेको नभएको बताए । उनले सबैलाई मिलाएर अघि बढाउन आफूहरूले चाहेको पनि स्पष्ट पारे । उनले पछिल्लो समय पार्टी परित्याग गरेकाहरू पनि पार्टीमा पुनः फर्किने क्रम जारी रहेको भन्दै अझ बलियो पार्टी बनाउनुपर्ने आवश्यकता औँल्याए ।

उनले कांग्रेसलाई कमजोर बनाउनेहरू नेपालमा रहेको भन्दै सबैलाई एक गरेर बलियो पार्टी बनाउनुपर्ने बताए । उनले आफूले अब सबैकुराबाट सन्यास लिने बेला आइसकेको भन्दै पार्टी, देशको चिन्ता अब नयाँ बन्ने नेताहरूले लिनुपर्ने बताए ।

उनले भने ‘हाम्रो पार्टी र नेकपा एमाले सहमतिमा पुगेर अहिले नयाँ सरकार बनेको छ । एमाले र माओवादी हुँदा हाम्रो पार्टीको अवस्थाप्रति सबै साथीहरू चिन्तित थिए । डराएका पनि थिए । अप्ठ्यारो पनि मानेका थिए । उहाँहरूकै सुझाव अनुसार एमालेका नेता केपी शर्मा ओलीसँग कुरा गरेर सहमतिमा पुग्यौँ । त्यो सहमतिले अहिले केपी ओलीजी प्रधानमन्त्री हुनुहुन्छ । दुई वर्ष पुगेपछि डेढ वर्षको निम्ति मलाई प्रधानमन्त्री छोड्ने सहमति भएको छ । यसले देशभरका साथीहरूमा सुखद् कुरा आएको छ । सबै साथीहरू खुसी छन् । दुई पार्टीको बीचमा जो सहमति भएको छ । त्यसले अरु केही पार्टीका साथीहरू दुई पार्टी मिलेपछि हामी अरु पार्टी सिद्धिन्छ भन्ने चिन्ता होला । तर हामी कसैलाई सिद्ध्याउने, कमजोर गर्ने हाम्रो पार्टीको नीति पनि होइन । मलाई लाग्छ, एमालेका नेता केपी ओलीज्यूको कुरा पनि होइन । त्यसैले हामी सबैलाई मिलाएर अघि बढ्नुपर्ने कुराहरू छ । हामी सबैलाई मिलाएर अघि बढाउन चाहन्छौँ । अहिलेको बेलामा एमाले र काँग्रेसको बीचमा सहमति भएको छ । यसले हाम्रोबाट अरु पार्टीमा गएकाहरू पनि फर्किँदै छन् । अझै फर्काउने काममा लाग्नुपर्छ । धेरै पार्टीले हामीलाई कमजोर बनाउन खोजकै हो । हाम्रो पार्टी कमजोर बनाउनेहरू अझै छन् । हामीले सबैलाई एक गरेर बलियो पार्टी बनाउनु पर्छ । मेरो एज पनि गयो । हरेक कारणले पनि रिटायरमेण्टको बेला भइसकेको छ । भोलि हुने नेताहरूले नै चिन्ता बढी गर्नुपर्छ । मलाई भन्दा बढ्ता चिन्ता गर्नुपर्छ ।’

सभापति देउवाले भोलिका दिनहरू चुनौतीपूर्ण र महत्वपूर्ण अवसरका रुपमा रहेको भन्दै दुवैलाई मिलाएर अघि बढ्न आग्रह गरे । उनले अब पार्टीको नेतृत्व लिने नेताहरूलाई काम गरेर देखाउन पनि चुनौती दिए । उनले काँग्रेस र एमालेको सरकार बनेपछि देशभर उत्साह पैदा भएको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *