रास्वपाको राष्ट्रिय भेलामा १५ सय प्रतिनिधि सहभागी हुने

राष्ट्रिय स्वतन्त्र पार्टीले असोज १ र २ गते हुने राष्ट्रिय भेलाको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

बिहीबार पार्टी केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गरी तयारी पूरा भएको जनाएको हो । पत्रकार सम्मेलनका क्रममा पार्टीका कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले राष्ट्रिय भेला असोज १ र २ गते काठमाडौंको प्रज्ञा प्रतिष्ठानमा हुने बताए ।

भेलामा १५ सय जति प्रतिनिधिको सहभागिता रहने बताए । उनले नयाँ राजनीतिक दल भएकाले प्रतिनिधिको चाप रहेको र १५ सय प्रतिनिधिहरू उपस्थित रहने गरी व्यवस्था मिलाएको बताए । केन्द्रीय समितिदेखि पालिकाको प्रतिनिधिसम्म राष्ट्रिय भेलामा अटाउन कोसिस गरिएको बताए ।

करिब ४ सय पालिकामा पार्टीको संरचना बनेको र २ हजार भन्दा बढी वडाहरूमा संरचना बनेको दाबी गरे । वडाबाट प्रतिनिधित्व ल्याउन सक्ने अवस्था नरहेको र पालिकाको तर्फबाट प्रतिनिधिहरू छनोट भएर आउने गरी व्यवस्था गरेको जानकारी दिए ।

उनले भने ‘असोज १ र २ गते काठमाडौंको प्रज्ञा प्रतिष्ठानमा राष्ट्रिय भेला हुनेछ । त्यसमा करिब १५ सय जति प्रतिनिधिहरू आउने तयारी छ । हामीलाई नयाँ पार्टी पनि भएको र एउटा उत्साह पनि भएको हिसाबले प्रतिनिधिहरूको चाप छ । त्यो हलको क्षमता १३ सय ५० भन्दा बढी धान्न नसक्ने छ । तथापि १५ सय जति हामीले अपेक्षा गरेका छौँ । केन्द्रीय समितिदेखि पालिकाको प्रतिनिधिसम्म राष्ट्रिय भेलामा अटाउन कोसिस गरेका छौँ । हाम्रो करिब ४ सय पालिकामा पार्टीको संरचना बनेको छ । २ हजार भन्दा बढी वडाहरूमा संरचना बनेको छ । वडाबाट प्रतिनिधित्व ल्याउन सक्ने अवस्था रहेन । पालिकाको तर्फबाट प्रतिनिधिहरू छनोट भएर आउने गरी व्यवस्था गरेका छौँ ।’

रास्वपाले उपत्यका बाहिरबाट आउने प्रतिनिधिका लागि आवास र यातायातको व्यवस्था हुने जनाएको छ । राष्ट्रिय भेलाको तयारीका लागि १५ वटा उपसमिति गठन भएको र केन्द्रीय समितिका सदस्यहरूले नेतृत्व गर्नेगरी उपसमिति बनाइ काम गरिएको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *