मेयर भरत थापाको सुत्र : मुद्दा प्रभावित गर्न आफैमाथि आफन्तबाट मुद्दा

सर्लाहीको बागमती नगरपालिकाका निलम्बित मेयर भरत थापाले मुद्दा प्रभावित गर्न आफैमाथि आफन्तबाट मुद्दा हाल्न लगाएको आरोप लागेको छ ।

थापाविरुद्ध अख्तियार दुरूपयोग अनुसन्धान आयोगले गएको चैत २७ गते गैरकानूनी रूपमा ५ करोड ३३ लाख ५३ हजार रुपैयाँ आर्जन गरेको भन्दै विशेष अदालतमा दायर गरेको थियो । उक्त मुद्दा प्रभावित पार्न सर्लाही जिल्ला अदालतमा आफैमाथि आफन्तबाट मुद्दा हाल्न लगाएको आरोप लागेको हो । अख्तियारले मुद्दा दायर गरेको एक महिनापछि आर्थिक लेनदेन सम्बन्धि मुद्दा सर्लाही जिल्ला अदालतमा परेको थियो । अदालतमा तीन वटै मुद्दाका वादीहरू थापा निकट सम्बन्ध रहेका व्यक्ति रहेको बुझिएको छ ।

निलम्बित मेयर थापालाई नजिकबाट चिन्नेहरु अख्तियारले दायर गरेको मुद्दा प्रभावित गर्नकै लागि योजनाबद्ध रुपमा अदालतमा मुद्दा हाल्न लगाइएको दाबी गर्छन्। अख्तियारले थापाविरूद्ध मुद्दा दायर गरेयता उनीहरूले थापाकै पक्षका समाचारहरु सामाजिक सञ्जालमा सेयर गर्ने गरेको बताइएको छ । तीनै जनाले एकै ठाउँबाट फिरादपत्र र प्रतिउत्तर पत्र तयार पारेको सर्लाहीका एक अधिवक्ताले बताए । भाषा, शैली सबै एकै रहेको बताउँदै उनले मिलेमतोमा नक्कली मुद्दा दर्ता गराएको आरोप लगाएका छन् । थापाविरुद्ध मुद्दा दायर गरेकाहरुले भने आफू पिडित रहेको र सक्कली मुद्दा नै हालेको दाबी गरेका छन् । मुद्दाको पाटो एउटा रहेको बताउदै उनीहरुले राम्रो कामलाई राम्रो भन्नु गलत नभएको बताएका छन् ।

सर्लाही जिल्ला अदालतमा थापाविरुद्ध हालिएका तीनमध्ये दुईवटा मुद्दाको फैसला भएको छ । निलम्बित मेयर थापाले वादीको दाबीबमोजिम रकम दिनुपर्ने अदालतले फैसला गरेको छ । सुमन थापाले वैशाख २४ गते दायर गरेको अर्को मुद्दा विचाराधीन छ। चार पटक सुनुवाइ स्थगित भएको मुद्दा यही भदौ ३० गतेका लागि तोकिएको छ। थापाविरुद्ध अख्तियार दुरूपयोग अनुसन्धान आयोगले विशेष अदालतमा दायर गरेको मुद्दा पनि विचाराधीन छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर