३० हजार मेट्रिक टन चिनी ल्याउने प्रक्रिया सुरु

सरकारले चाडपर्वलक्षित ५० प्रतिशत भन्सार छुटमा ३० हजार मेट्रिक टन चिनी आयात गर्ने निर्णय गरेको छ । सरकारले सरकारी स्वामित्वका खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेसनबाट ५० प्रतिशत भन्सार छुटको १५-१५ हजार मेट्रिक टन चिनी आयात गर्ने निर्णय गरेको हो ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार यही सोमबार बसेको मन्त्रीपरिषद् बैठकले ५० प्रतिशत भन्सार छुटमा ३० हजार टन चिनी आयात गर्ने निर्णय भएको हो । छुटको चिनी ल्याउने निर्णय बाहिर आउनेबित्तिकै साल्ट ट्रेडिङ कर्पोरेसनले खरिदका लागि टेन्डर आह्वान गर्ने तयारी थालेको जनाएको छ ।

कर्पोरेसनका सूचना अधिकारी कुमार राजभण्डारीले सरकारको निर्णय सार्वजनिक भएकाले उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदार भण्डारीको मौखिक आदेश आइसकेकाले बुधबार टेन्डर गरेको जानकारी दिए । सरकार प्रक्रिया अनुसार पत्र बन्न समय लाग्ने हुँदा दसैँअगाडि नै चिनी ल्याउने निर्देशन आए अनुसार नै टेन्डर गरेको उनले बताए  । कर्पोरेसनमा सहमहाप्रबन्धकको जिम्मेवारीमा रहेका राजभण्डारीका अनुसार ग्लोबल टेन्डरमार्फत खरिद गर्दा समय धेरै लाग्ने हुँदा छोटो अवधिको ११ दिनको सूचनामार्फत खरिद गर्ने गरी टेन्डर गरेको जानकारी दिए ।

ग्लोबल टेन्डरमा कम्तीमा ३० दिन लाग्छ । त्यसैले अबको १६-१७ दिनभित्र चिनी आयात गर्ने सोचका साथ प्रक्रिया अगाडि बढाएको उनले जानकारी दिए । निजी व्यापारीले आयात गर्न नसकेपछि छुटमा आयात गर्न साल्ट र खाद्यलाई जिम्मा दिएको मन्त्रालयले जनाएको छ । हाल चिनी आयातमा ३० प्रतिशत भन्सार महसुल लाग्छ ।

चाडपर्वमा चिनीको खपत बढ्ने हुँदा व्यवसायीले कृत्रिम अभाव बनाएर मूल्य बढाउँछन् । विगतको इतिहास हेर्दा खाद्य र साल्टले सहुलियत चिनी आयात गर्न सकेको देखिँदैन । २०७७ साउन १२ को मन्त्रीपरिषद्ले खाद्यलाई १० हजार र साल्टलाई २० हजार टन आयातको जिम्मा दिएको थियो । दुवै निकायलाई ५० प्रतिशत भन्सार महसुल छुटमा आयात गर्न स्वीकृति दिएको थियो । सहुलियतको चिनी साल्टले दसैँअगाडि केही मात्रामा ल्याए पनि खाद्यले ल्याउन सकेन । गत वर्ष चाडबाडमा अभाव रोक्न सरकारले फेरि छुटमा ल्याउने निर्णय गर्‍यो । खाद्य र साल्टलाई १०-१० हजार मेट्रिक टन आयातको जिम्मा दिएको थियो । चिनी आयात ५० प्रतिशत भन्सार दर छुट थियो  तर आयात भएन । खाद्य र साल्टले आयात नगर्दा बजारभाउ प्रतिकेजी १५० देखि १६० रुपियाँ पुगेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर