मुलुकको सार्वभौमसत्ता, अखण्डता र एकताको रक्षा गर्नु सेनाको प्रमुख कार्य हो : प्रधान सेनापति सिग्देल

प्रधान सेनापति अशोकराज सिग्देलले मुलुकको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधीनता र राष्ट्रिय एकताको रक्षा गर्नु नेपाली सेनाको प्रमुख कार्य रहेको बताएका छन् ।

जंगी अड्डास्थित सभामण्डपमा सकल दर्जालाई आज  पहिलो पटक सम्बोधन गर्दै उनले आफ्ना प्राथमिकता र आगामी कार्यदिशाबारे जानकारी गराउनुका साथै सकल दर्जालाई निर्देशन दिएका थिए । उनले भने, नेपालको संविधान, नेपाली सेनाको मूलग्रन्थ, राष्ट्रिय सुरक्षा नीति, राष्ट्रिय प्रतिरक्षा नीति, नेपाली सेना दीर्घकालीन सोच-२०८७ लगायतलाई आधारमानी संगठनको सुदृढीकरण गर्दै लगिनेछ ।

प्रधान सेनापति सिग्देलले राष्ट्रिय सुरक्षाका लागि राष्ट्रिय संयन्त्रहरूको क्षमता सुदृढीकरणमार्फत समग्र राष्ट्रिय सोचमा आधारित विश्वसनीय र प्रभावकारी रणनीतिको आवश्यकता रहेको हुँदा देशको सुरक्षा, प्रतिरक्षा र अन्तर्राष्ट्रिय सम्बन्धका विषयमा राज्यका सबै संयन्त्रहरूको साझा बुझाइ र समान धारणा विकास होस् भन्ने हेतुले राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय निर्धारित समयमै सञ्चालनमा ल्याइने प्रतिबद्धता व्यक्त गरे ।

उनले सेना र नागरिकबीचको सम्बन्धलाई थप प्रभावकारी बनाउनका लागि शिक्षा, स्वास्थ्य, कला संस्कृति र परम्पराको संरक्षण गर्न, पर्यावरण जोगाउन तथा राज्यका सम्पदाहरूको सुरक्षामा योगदान पु¥याउन सैनिक मर्यादालाई ख्याल राख्दै योजना तर्जुमा गरी कार्यान्वयन गरिने उल्लेख गरे ।

राष्ट्रिय हित र सुरक्षालाई केन्द्रविन्दुमा राखी देशको परराष्ट्र नीतिलाई टेवा पुर्‍याउन सैनिक कूटनीतिलाई थप प्रभावकारी बनाउँदै लगिने उनको भनाइ थियो ।

प्रधानसेनापति सिग्देलले नेपाल सरकार र नेपाली सेनाको प्राथमिकतामा रहेको बंकर टु ब्यारेक योजना, लत्ताकपडा प्राप्ति एवं उत्पादनलगायतका कार्यलाई व्यवस्थित गर्दै लगिने जानकारी गराए ।

उनले काठमाडौँ-तराई-मधेस द्रुतमार्गलगायत अन्य सडक तथा करिडोर निर्माणमा कुनै पनि प्रकारको ढिला सुस्ती, अनभिज्ञता, अनियमिततालगायतका क्रियाकलाप अस्वीकार्य हुने बताए । नेपाली सेनाका सबै युनिटमा प्रत्यक्ष प्रसारण गरिएको उक्त कार्यक्रममा रथीवृन्द, अधिकृत, पदिक तथा अन्य दर्जाहरूको उपस्थिति थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *