देशभर ५५ विमानस्थल, २२ वटा बन्द

मनाङको हुम्दे विमानस्थल बाह्रै महिना सञ्चालन गर्ने भन्दै ०७० मा नौ करोड खर्चेर स्तरोन्नति गरियो । ६ सय मिटरको धावनमार्ग नौ सय मिटर मात्र बनाइएन, कालोपत्रे गरेर टलक्क पारियो । लगत्तै, नागरिक उड्डयन प्राधिकरण (क्यान)को एउटा टोलीले परीक्षण उडान गरेकोमा उक्त विमानस्थलमा अर्को जहाज पुग्न ६ वर्ष कुर्नुपर्‍यो । त्यो पनि सर्वसाधारणका लागि होइन । ०७६ भदौमा गण्डकी प्रदेशका तत्कालीन मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको टोली समिट एयर चढेर मनाङमा ओर्लिएको थियो । त्यसयता अहिलेसम्म फेरि एउटा पनि अवतरण भएको छैन ।

स्तरोन्नति गरेर पनि सञ्चालनमा नआएको अर्को विमानस्थल हो, बैतडीको पाटन विमानस्थल । यस्तै, ०७२ मा कालोपत्रे गरिएको ओखलढुंगाको रुम्जाटार विमानस्थल पनि बन्द छ ।देशभर कालोपत्रे गरेर पनि सञ्चालनमा आउन नसकेका विमानस्थल नौवटा रहेको क्यानले जनाएको छ । बागलुङको बलेवा, मनाङको हुम्दे, बैतडीको पाटन र ओखलढुंगाको रुम्जाटारबाहेक रुकुमको चौरजहारी, डोटीको दिपायल, खोटाङको लामिडाँडा, डोल्पाको मसिनेचौर र कालिकोट विमानस्थलमा करोडौँ रुपैयाँ खर्चिएर कालोपत्रे गरिए पनि उडान हुन सकेका छैनन् । बरु यी विमानस्थल धुले वा ग्राभेल  मात्र हुँदा भने नियमित उडान हुने गथ्र्यो ।

बढ्दो सडक सञ्जाल, घट्दो हवाई यात्रु, साना जहाज नै कम हुनु र चर्को भाडाका कारण सर्ट टेकअफ ल्यान्डिङ (स्टल) अर्थात् छोटो धावनमार्ग भएका दुर्गम क्षेत्रका विमानस्थलहरू स्तरोन्नति गर्दा पनि नियमित सञ्चालनमा ल्याउन नसकेको क्यानका सूचना अधिकारी ज्ञानेन्द्र भुलले बताए । ‘प्राधिकरणले पटक–पटक सरकारी र निजी वायुसेवा कम्पनीलाई सञ्चालनका लागि आग्रह गरे पनि कुनै चासो देखाएका छैनन्,’ उनले भने, ‘भौगोलिक कठिनाइका साथैे दुर्गममा लोडको ग्यारेन्टी कम हुने भएकाले वायुसेवा कम्पनीहरूले उडान भर्न मान्दैनन् ।’ नियमित उडान गर्न सम्भव छ कि छैन भनेर सम्भाव्यता अध्ययन नगरी नेता र उच्चाधिकारीहरूको लहडमा विमानस्थलहरू स्तरोन्नति गर्दा करोडौँ नोक्सान भएको छ ।

अहिले देशभर तीन अन्तर्राष्ट्रियसहित ५५ विमानस्थल निर्माण भएका छन् । जसमध्ये ३३ विमानस्थलमा मात्र उडान तथा अवतरण हुने गरेको छ । बन्द हालतमा रहेका २२ विमानस्थलमध्ये नौवटा पक्की र १३ कच्ची रहेको क्यानको तथ्यांक छ । कुल विमानस्थलमध्ये ४२ विमानस्थल (उडान नहुनेसमेत) पक्की रहेको सूचना अधिकारी भुलले जानकारी दिए । उडान नहुने धेरैजसो विमानस्थल घाँसे मैदान, फुटबल मैदान र गौचरनमा परिणत भइसकेका छन् । कतिपय त विमानस्थल नै हो कि होइन भनेर ठम्याउन नसकिने स्थितिमा पुगेका छन् । नयाँपत्रिका दैनिकमा समाचार छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर