नेपालमा आइएसआइएसका मतियार रहेको आशंका

आतंकवादी गतिविधिमा संलग्न अतिवादी संगठन आइएसआइएससँग आर्थिक कारोबारमा जोडिएका व्यक्तिसँग नेपाल प्रहरीका डिएसपीको सम्पर्क देखिएपछि नेपालमै उक्त संगठनका एजेन्ट (मतियार) रहेको आशंका गरिएको छ।

इन्टरपोलको नेसनल सेन्ट्रल ब्युरो (एनसिबी) सिंगापुरले अतिवादी संगठनका मतियारहरू नेपालमा पनि हुन सक्ने भन्दै नेपाल प्रहरीलाई अनुसन्धानका लागि आग्रह गरेको छ। इन्टरपोल अन्तरदेशीय रूपमा हुने अपराधविरुद्ध लड्न बनाइएको प्रहरीहरूको अन्तर्राष्ट्रिय संगठन हो।

इन्टरपोलले संकेत गरेको अतिवादी संगठन आइएसआइएस (इस्लामिक स्टेट अफ इराक एन्ड सिरिया) हो। यसलाई आइएसको इस्लामिक स्टेट भनेर पनि चिनिन्छ। इराक र सिरियासँगै खाडीका र अफ्रिकी मुलुकमा आइएसआइएसको ठुलो सञ्जाल रहेको प्रहरीको दाबी छ।

‘नेपाल प्रहरीका एक डिएसपीको आइएसआइएससँग जोडिएका व्यक्तिसँग सम्पर्क देखिएको विषयमा आन्तरिक रूपमा अनुसन्धान भइरहेको छ। यो विषयमा अन्य आशंकित व्यक्तिमाथि पनि अनुसन्धान हुन्छ,’ नेपाल प्रहरीका प्रवक्ता डिआइजी दानबहादुर कार्कीले भने।

इन्टरपोलले अतिवादी संगठनसँग जोडिएर आर्थिक कारोबार गरिरहेको आशंकामा तीन नेपालीको विवरण मागेपछि झस्केको नेपाल प्रहरीले अरू आशंकित व्यक्तिलाई समेत निगरानीमा राखेर अनुसन्धान गर्ने भएको छ।

-दानबहादुर कार्की, प्रवक्ता, नेपाल प्रहरी

नेपाल प्रहरीका एक डिएसपीको आइएसआइएससँग जोडिएका व्यक्तिसँग सम्पर्क देखिएको विषयमा आन्तरिक रूपमा अनुसन्धान भइरहेको छ। यो विषयमा अन्य आशंकितमाथि पनि अनुसन्धान हुन्छ।

दानबहादुर कार्की, प्रवक्ता, नेपाल प्रहरी

इन्टरपोलले विवरण माग गरेका तीनजनामध्ये एक नेपाल प्रहरीका बहालवाला डिएसपी हेमबहादुर शाही हुन्। १९७९ अक्टोबर १४ मा जन्मिएका डिएसपी शाहीको ठेगाना कैलाली भएको विवरण नेपाल प्रहरीले इन्टरपोललाई उपलब्ध गराइसकेको छ।

इन्टरपोलको एनसिबी सिंगापुरले नेपाल प्रहरीको एनसिबी काठमाडौंलाई पत्राचार गरेपछि प्रधान कार्यालयले पनि आन्तरिक रूपमा अनुसन्धान गरेको छ। ‘यस विषयमा अनुसन्धान भइरहेको छ’, डिआइजी कार्कीले भने।

प्रहरीका अनुसार आतंकवादी गतिविधिमा संलग्न रहेर आर्थिक कारोबार गरिरहेको आशंकामा इन्टरपोलको एनसिबी सिंगापुरले कालिकोटका महेन्द्रजंग शाह, कालिकोटकै दीपेन्द्रबहादुर शाह र डिएसपी हेमबहादुर शाहीको पृष्ठभूमि जानकारी गराउन पत्राचार गरेको हो। महेन्द्रजंग गैरआवासीय नेपाली संघ मलेसियाको पूर्वअध्यक्ष समेत हुन्।

महेन्द्रजंग आइएसआइएससँग जोडिएको इन्टरपोल एनसिबी सिंगापुरको दाबी छ। आइएसआइएस सन् २००६ मा आतंकवादी संगठन अलकायदासँग जोडिएको थियो। महेन्द्रजंग लामो समयदेखि दुबई र मलेसियामा बस्दै आएका छन्। उनी मात्र होइन, नेपालका अन्य व्यक्तिहरू पनि आइएसआइएससँग जोडिएको आशंका गरिएको छ।

आइएसआइएससँग झन्डै ४० हजार सैनिक रहेको बताइन्छ। इराक, सिरिया र अन्य देशका समेत गरेर दुई लाखभन्दा बढी मानिस यो संगठनमा आबद्ध भएको दाबी गरिएको छ। सन् २०१४ को जुनमा आइएसआइएससँग १५ हजार सैन्य दस्ता रहेको अनुमान गरिएको थियो। विश्वमा सुन्नी इस्लामिक राज्य खडा गर्ने उद्देश्यमा खुलेका अन्य आतंकवादी संगठनभन्दा यसले निकै छिटो आफ्नो संगठन विस्तार गरेको मानिन्छ।

नेपालमा भारतबाट आएका केही मानिस आतंकवादी क्रियाकलापमा संलग्न रहेको देखिएको छ। २०६८ सालमा भारतीय ‘कुख्यात अपराधी’ हरिशचन्द्र भनिने सुभाष झाले सुनसरीबाट नागरिकता लिएको खुलेको थियो। त्यसअघि सुनसरीबाट अन्तर्राष्ट्रिय अपराधी अली असरफ अन्सारी, भारतीय अतिवादी नेता निरञ्जन होजाई, बंगलादेशी हासिम आलम, बिहारको आतंक भनेर चिनिएका धीरेन्द्र यादवलगायत २५ जनाभन्दा बढी गैरनेपालीले नागरिकता लिएको तथ्य खुलेको थियो।

भारतको असममा सशस्त्र विद्रोह गर्दै आएका होजाईले सुनसरीबाट नागरिकता लिएका थिए। भारतमा आतंकवादी गतिविधि गर्दै आएका झाले सुनसरीको श्रीपुर–३ बाट झुटो विवरण पेस गरी नेपाली नागरिकता लिएका थिए। भारतको विभिन्न सहरमा आतंकवादी गतिविधिमा संलग्न भई नेपाल पसेको आरोपमा केही पक्राउसमेत परेका छन्। नागरिक दैनिकमा समाचार छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *