५९ प्रतिशत वैदेशिक लगानी औद्योगिक क्षेत्रमा

देशमा भित्रिने प्रत्यक्ष वैदेशिक लगानी (एफडिआई) मध्ये आधाभन्दा धेरै लगानी औद्योगिक क्षेत्रमा रहेको देखिएको छ ।

नेपाल राष्ट्र बैङ्कले गरेको प्रत्यक्ष वैदेशिक लगानीसम्बन्धी सर्वेक्षण प्रतिवेदन २०७९/८० अनुसार नेपालमा रहेको प्रत्यक्ष वैदेशिक लगानीमध्ये ५९.७ प्रतिशत औद्योगिक क्षेत्रमा र ४०.२ प्रतिशत सेवा क्षेत्रमा रहेको देखिएको हो । औद्योगिक क्षेत्र अन्तर्गत जलविद्युत् क्षेत्रमा ३० प्रतिशत र उत्पादन क्षेत्रमा २९.४ प्रतिशत वैदेशिक लगानी रहेको तथ्याङ्कले देखाएको छ । मुलुकमा भत्रिने कुल प्रत्यक्ष वैदेशिक लगानीमध्ये २६ प्रतिशत सेवा क्षेत्र अन्तर्गत बैङ्क तथा वित्तीय संस्था र बिमा कम्पनीमा रहेको तथ्याङ्क छ ।

प्रदेशगत आधारमा नेपालमा रहेका प्रत्यक्ष लगानीमध्ये सबैभन्दा बढी बागमती प्रदेशमा ५९.७ प्रतिशत रहेको देखिन्छ । यस्तै गण्डकी प्रदेशमा १५.१ प्रतिशत, कोशी प्रदेशमा १४.७ प्रतिशत, मधेश प्रदेशमा ८.८ प्रतिशत रहेको छ । सबैभन्दा कम लुम्बिनी, कर्णाली तथा सुदूरपश्चिममा प्रदेशमा प्रत्यक्ष वैदेशिक लगानी एक प्रतिशतभन्दा कम रहेको देखिन्छ ।

प्रत्यक्ष वैदेशिक लगानीसम्बन्धी आवश्यक तथ्याङ्क सङ्कलन गरी लगानीको क्षेत्रगत अवस्था एवं प्रवृत्ति विश्लेषणका आधारमा आवश्यक नीति निर्माणमा सहयोग पु¥याउने उद्देश्यले राष्ट्र बैङ्कको आर्थिक अनुसन्धान विभागले प्रत्यक्ष वैदेशिक लगानीसम्बन्धी प्रत्येक आर्थिक वर्षमा स्थलगत सर्वेक्षण सम्पन्न गरी प्रतिवेदन प्रकाशन गर्दै आएको छ । आव २०७९/८० मा नेपालमा प्रत्यक्ष वैदेशिक लगानीमा सञ्चालित कम्पनीमध्ये कुल २३८ वटा कम्पनीको नमुना छनोट गरी सर्वेक्षणबाट प्राप्त तथ्याङ्क तथा अन्य विवरणको विश्लेषणका आधारमा ‘प्रत्यक्ष वैदेशिक लगानीसम्बन्धी सर्वेक्षण प्रतिवेदन, २०७९/८०’ तयार पारिएको हो ।

नेपालमा आव २०७९/८० को अन्त्यसम्ममा कुल प्रत्यक्ष वैदेशिक लगानीको मौज्दात ११.८ प्रतिशतले वृद्धि भई दुई खर्ब ९५ अर्ब ५० करोड कायम रहेको छ । कुल वैदेशिक लगानीमध्ये चुक्ता पुँजीको अंश ५२.८ प्रतिशत, सञ्चिति ३३.७ प्रतिशत र कर्जाको अंश १३.५ प्रतिशत रहेको छ ।

राष्ट्र बैङ्कको तथ्याङ्क अनुसार २०८० असार मसान्तसम्ममा नेपालमा ५८ वटा देशको प्रत्यक्ष वैदेशिक लगानी रहेको छ । जसमध्ये भारतबाट सबैभन्दा बढी एक खर्ब तीन अर्ब ४५ करोड रुपियाँ भित्रिएको छ । जुुन ३५ प्रतिशत हो । चीनबाट ३५ अर्ब ४६ करोड (१२ प्रतिशत), आयरल्यान्डबाट २२ अर्ब ६२ करोड (७.७ प्रतिशत), अस्ट्रेलियाबाट १९ अर्ब छ करोड (६.४ प्रतिशत) र सिङ्गापुरबाट १८ अर्ब ८१ करोड (६.४ प्रतिशत) प्रत्यक्ष वैदेशिक लगानी रहेको देखिन्छ ।

यसैबिच आव २०८०/८१ मा ६१ अर्ब ९० करोड रुपियाँ वैदेशिक लगानी प्रतिबद्धता आएकामा आठ अर्ब ४० करोड रुपियाँ भित्रिएको नेपाल राष्ट्र बैङ्कले जनाएको छ । आव २०७९/८० मा ३८ अर्ब प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धता आएकोमा छ अर्ब १७ करोड रुपियाँ भित्रिएको थियो ।  गोरखापत्र दैनिकमा समाचार छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *