वागमती नदीमा युवकको शव फेला
२२ भदौ २०८१ १९:१७
रौतहटको वाग्मती नदीमा युवकको शव फेला परेको छ । वृन्दावन नगरपालिका-१ रमौली घाटस्थित वाग्मतीमा अन्दाजी ३०/३५ वर्षीय युवकको शव शनिबार फेला परेको हो । शवको पहिचान खुलिसकेको छैन ।
सशस्त्र प्रहरी बेस क्याम्प समनपुर र इलाका प्रहरी कार्यालय समनपुरबाट गएको संयुक्त टोलीले वाग्मतीबाट शव निकालेको सशस्त्र प्रहरी रौतहटका प्रमुख एसपी विक्रम हुमागाईंले जानकारी दिए ।
मृतकको पहिचानका लागि सहयोग गरिदिन जिल्ला प्रहरी गौरले आग्रह गरेको छ । ‘मृतक को हुन् भन्ने अहिलेसम्म खुलेको छैन,’ एसपी हुमागाईंले भने, ‘प्रहरीले जिल्लाभरिका यूनिटमा हुलीयासहित संचार गरिसकेको छ । मृतकका आफन्तहरुबारे सोधखोज हुँदै छ ।’
शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल गौरमा पठाइएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया