चाडपर्व नजिकिएसँगै कृषिउपज बजारमा चहलपहल बढ्यो

चाडपर्व नजिकिएसँगै धरान उपमहानगरपालिका–१३ स्थित कृषिउपज बजारमा दैनिक उपभोग्य वस्तुसँगै खसीबोका किनबेच बढ्न थालेको छ । साताको बिहीबार र शुक्रबार दुई दिन खसी र बोकाको व्यापार हुने कृषि बजारमा तराईका ग्रामीणक्षेत्रदेखि पहाडी भेगबाट व्यापारीले खसीबोका बिक्रीका लागि धरान ल्याउने गरेका छन् ।

धनकुटाबाट खसीबोका बिक्री गर्न धरान आएका ललित लिम्बूले विगत २५ वर्षदेखि खसीबोका पशुपालन व्यावसाय गर्दै आएका छन् । ‘धरानको कृषि बजारमा खसीबोका बिक्रीका लागि प्रत्येक हप्ता आउने गरेको छु । बिहीबार २० खसीबोका ल्याएर धरान आएको थिएँ । अब दुईवटा मात्र बिक्री गर्न बाँकी छ’, लिम्बूले भने, ‘खसीबोका पाँच हजारदेखि २५ हजार रुपैयाँसम्ममा बिक्री गरिरहेको छु ।’

लिम्बूले खसीबोका बिक्री गर्न विराटनगर, दुहवी, इनरुवा, इटहरी, तरहरासम्म लैजाने गरेका छन् । ‘व्यापारको टुङ्गो हुँदैन कहिले घाटा लाग्छ, कहिले नाफा हुन्छ । तर, यही व्यवसायबाट घरपरिवारका लागि खर्च भने मज्जाले पुग्छ’, उनले भने । पाँचथरकी किसान रीता राईले धरानस्थित कृषि बजारमा खसीबोका बिक्री गर्न सधैँ आउने गरेको सुनाइन् ।  खसीबोका गाडीबाट लिएर बिक्रीका लागि बुधबार नै धरान झरेको उनले बताइन् ।

राईले मासिक  पाँच लाख रुपैयाँभन्दा बढीको खसीबोका बिक्री गर्ने गरेको बताइन् । ‘पुर्ख्यौली पेसा खेती किसानी हो । तर, विगत ६ वर्षदेखि मैले व्यवसाय सुरु गरेकी छु,’ उनले भनिन् । प्रत्येक हप्ता धरानमा ३० देखि ३५ वटासम्म खसीबोका बिक्रीका लागि ल्याउने गरेको र कहिलेकाहीँ बिक्री नभएर फेरि फर्काएर घरै लैजानु परेको उनी बताउँछिन् । खेती किसानीभन्दा खसीबोका व्यवसाय राम्रो रहेको उल्लेख गर्दै राईले घाँस खुवाउँदाको तुलनामा खर्च बढी भए पनि नाफा नै हुने गरेको बताइन् ।

धरान उपमहानगरपालिका–१७ का व्यापारी पर्शुराम बस्नेत प्रत्येक साता कृषि बजारमा खसीबोका किन्न आउँछन् । पन्ध्र वर्षको उमेरदेखि यो व्यवसाय सुरु गरेको उनले बताए । प्रत्येक साता एक सयदेखि एक सय ५० सम्म खसीबोका खरीद गरी दैनिक ५० वटासम्म बिक्री गर्ने गरेको बस्नेतले बताए । ‘धरान कृषि बजारमा खरिद गरिएका खसीबोका राख्न राम्रो सुविधा छ, अरू ठाउँमा यस्तो सुविधा छैन । खरिद गरिएको खसीबोका राख्न यहाँ राम्रो खोरको व्यवस्था छ’, बस्नेतले भने । यहाँबाट किनेका खसीबोका बिक्रीका लागि अन्य जिल्ला लैजाने गरेको उनको भनाइ छ । काठमाडौं, जनकपुर, लहान, इटहरी, इनरुवालगायत ठाउँमा खसीबोका बिक्री गर्ने गरेको उनले बताए । सबै खर्च कटाएर मासिक एक लाखदेखि एक लाख ५० हजार रुपैयाँसम्म नाफा हुने गरेको बस्नेतको भनाइ छ ।

चाडपर्व नजिकिएसँगै बिहीबार र शुक्रबार लाग्ने उक्त खसी बजारबाट सातामा करिब पाँच हजारभन्दा बढी खसीबोका बिक्री हुने गरेको कृषिउपज बजार व्यवस्थापक अध्यक्ष लक्ष्मण भट्टराईले जानकारी दिए । उनका अनुसार धरान कृषिउपज बजारबाट प्रत्येक वर्ष दुई अर्ब रुपैयाँको खसीबोकाको कारोबार हुने गरेको छ ।  वार्षिक एक लाख ६० हजार खसीबोका बिक्री हुने गरेको उनले बताए ।  धनकुटा, भोजपुर, सङ्खुवासभा, पाँचथर, तेह्रथुमका साथै तराईका इटहरी, मोरङको कानेपोखरी, बेलबारीलगायत स्थानबाट किसान तथा व्यापारी खसीबोका किनबेचका लागि यहाँ आउने गरेका छन् । यहाँबाट मुलुकका ठूला सहरका साथै भारतमा समेत खसी बोका बिक्री गर्न लैजाने गरिएको उनले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर