अग्नि सापकोटाविरुद्धको मुद्दा पुनः सुरुदेखि सुनुवाइ हुने

सशस्त्र द्वन्द्वकालमा व्यक्ति हत्याको अभियोग लागेका नेकपा माओवादी केन्द्रका उपाध्यक्ष अग्निप्रसाद सापकोटाविरुद्धको मुद्दा १३ वर्ष बित्दा पनि सर्वोच्चले निर्णय दिन सकेको छैन । सर्वोच्चको संवैधानिक इजलासमा रहेको सो मुद्दा सुनुवाइ सकेर गत २३ जेठमै निर्णय सुनाउने मिति तोके पनि त्यसपछि २३ साउन, र १२ भदौमा निर्णय सुनाउने मिति सरेको थियो ।

प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, न्यायाधीशहरू प्रकाशमानसिंह राउत, सपना प्रधान मल्ल, प्रकाशकुमार ढुंगाना र कुमार रेग्मीसहितको संवैधानिक इजलासले तीन महिनाअघि नै निर्णय सुनाउनुपर्नेमा ढिलाइ हुँदै आइरहेको छ । १२ भदौपछि भने यस मुद्दाको निर्णय सुनाउने मिति अनिश्चित बनेको छ । आउँदो २० असोजेदेखि ६५ वर्षे उमेरहदका कारण प्रधानन्यायाधीश श्रेष्ठ अनिवार्य अवकाशमा जाँदै छन् । २० भदौबाट उनी घरबिदामा नबसेर निर्णय सुनाउने सम्भावना पनि देखिँदैन । राजनीतिसँग जोडिएको मुद्दा भएकाले प्रधानन्यायाधीश श्रेष्ठ पनि यस मुद्दामा निर्णय सुनाउने पक्षमा देखिँदैनन् । उनको अवकाशपछि हालका वरिष्ठतम् न्यायाधीश प्रकाशमानसिंह राउतले सर्वोच्चको कार्यभार सम्हाल्नेछन् ।

प्रधानन्यायाधीश सिफारिस भएर आउन एक महिना लाग्ने भएकाले सापकोटाविरुद्धको मुद्दामा मंसिरपछि मात्रै संवैधानिक इजलास बस्ने सम्भावना देखिन्छ । त्यसो हुँदा सापकोटाको मुद्दामा अर्को संवैधानिक इजलास गठन गरेर सुरुदेखि नै सुनुवाइ गर्नुपर्ने हुन्छ । प्रधानन्यायाधीश अवकाश हुनु एक महिनाअघि नै बिदामा बस्ने परम्परा छ । त्यसो हुँदा अब सापकोटाविरुद्धको मुद्दा अर्को संवैधानिक इजलास गठन भएर सुरु प्रक्रियाबाट पुनः सुनुवाइ हुने देखिन्छ । मुद्दाको निर्णय सुनाउने मिति पछि धकेल्ने र पुनः सुनुवाइ गर्नुपर्ने अवस्था आउनुले न्यायालयप्रति जनताले हेर्ने दृष्टिकोण फरक आउन सक्छ ।

काभ्रेका अर्जुन लामाको हत्या गरेको अभियोग लागेका पूर्वसभामुख तथा माओवादीका उपाध्यक्ष सापकोटाविरुद्ध पूर्णिमाया लामा, सुशील प्याकुरेललगायतले सर्वोच्चमा रिट दायर गरेका थिए । द्वन्द्वकालीन घटना नियमित प्रक्रियाबाट अनुसन्धान गरेर मुद्दा दर्ता प्रक्रिया अगाडि बढाउन मिल्ने कि नमिल्ने भन्ने विषयको अन्योलता संवैधानिक इजलासले व्याख्या गर्नुपर्नेछ । संक्रमणकालीन न्यायसम्बन्धी मुद्दाको छानबिन गर्न गठित सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग बनेको छ । तर, रिट निवेदकले भने हत्यासँग जोडिएको विषय भन्दै फौजदारी न्याय प्रणालीअन्तर्गत नियमित अदालतबाट मुद्दा दर्ता हुनुपर्ने माग राखेका थिए ।

सापकोटाविरुद्ध ६ असार २०६८ मा मुद्दा दर्ता भएको थियो । काभ्रे दाप्चाका स्थानीय व्यापारी तथा श्रीकृष्ण माध्यमिक विद्यालयको व्यवस्थापन समितिका अध्यक्ष रहेका लामाको अपहरणपछि हत्यामा माओवादी नेता अग्निप्रसाद सापकोटा, सूर्यमान दोङ, यादव पौडेल, भोला अर्याल, कर्नाखर गौतम र नोर्बु मोक्तान संलग्न रहेको आरोप छ ।

सापकोटालाई पक्राउ पुर्जी जारी रहेकै अवस्थामा तत्कालीन माओवादी सरकारले २०६८ साल जेठमा सूचना तथा सञ्चारमन्त्री नियुक्त गरेको थियो । उनलाई पक्राउ गर्नुपर्ने र मन्त्रीका रूपमा उनको नियुक्तिले घटनाको निष्पक्ष अनुसन्धानमा बाधा गर्ने भनी मानवअधिकार रक्षकको एक समूहले नियुक्तिलाई अदालतमा चुनौती दिएको थियो । सार्वजनिक सरोकारको मुद्दामा सुनुवाइ गर्दै २०६८ सालमा सर्वोच्च अदालतले सापकोटालाई मन्त्रीका रूपमा गरिएको नियुक्ति रोक्न अन्तरिम आदेश दिन अस्वीकार गरेको थियो । सापकोटालाई पदमुक्त गराउने कुनै कानुन नरहेको तथा उनीविरुद्ध गम्भीर आरोप रहेको अवस्थामा पदमा बसिरहने वा छोड्ने उनको नैतिकताको विषय भएको अदालतले आदेशमा भनेको थियो ।

यस मुद्दामा भइरहेको प्रगति रोक्न तत्कालीन मन्त्रिपरिषद्ले १२ साउन २०६९ मा सापकोटा तथा दोङविरुद्धको जाहेरीलाई तामेलीमा राख्ने निर्णय गरेको थियो । पीडितकी पत्नी पूर्णिमायाले सरकारको निर्णय उल्ट्याईपाऊँ भन्दै ७ मंसिर २०६९ मा सर्वोच्च अदालतसमक्ष रिट निवेदन दायर गरेपछि अदालतले ११ मंसिर २०६९ मा सरकारलाई निर्णय कार्यान्वयन नगर्न आदेश दिएको थियो ।

२२ चैत २०७२ मा तत्कालीन न्यायाधीश सुशीला कार्की र ओमप्रकाश मिश्रको इजलासले सो मुद्दा संवैधानिक इजलासमा जाने आदेश गरेको थियो । संवैधानिक इजलासमा सापकोटा सूचना तथा सञ्चारमन्त्री भएका बेला दायर भएको सहित तीन थान मुद्दा रहेका छन् । पूर्णिमायाले दायर गरेको रिट अन्तिम फैसलाका लागि संवैधानिक इजलासमा लामो समयदेखि विचाराधीन रहेको थियो । तत्कालीन नेकपा माओवादीका प्रवक्ता तथा पूर्वसूचना तथा सञ्चारमन्त्री रहेका सापकोटा ‘हालसम्म फरार अपराधी भएकाले सो जिम्मेवारीले अदालतको अवहेलना गरेको’ जिकिर गर्दै ६ असार २०६८ मा कनकमणि दीक्षितसहितले अवहेलना मुद्दा दायर गरेका थिए ।

यसअघि सर्वोच्चले लामा हत्या प्रकरणमा १५–१५ दिनमा प्रतिवेदन बुझाउने आदेश जारी गरेको थियो । सर्वोच्चको सो आदेशपछि काभ्रे प्रहरीले पक्राउ गर्न अनुसन्धान गरिरहेको जवाफ सर्वोच्च अदालतलाई दिँदै आएको छ ।

सर्वोच्चले काभ्रेका लामाको हत्यामा सापकोटा संलग्न भए–नभएको अनुसन्धान गर्न र संलग्न भएको भए पक्राउ गर्न ६ असार २०६८ मा आदेश दिएको थियो । न्यायाधीशद्वय रामकुमारप्रसाद साह र प्रकाश वस्तीको संयुक्त इजलासले प्रत्येक १५–१५ दिनमा अनुसन्धानको प्रगति विवरण महान्यायाधिवक्ताको कार्यालयमार्फत पेस गर्न भनेको थियो ।

तर, जिल्ला प्रहरी कार्यालयले सर्वोच्चको आदेश उल्लघंन गर्दै एक–एक महिनामा प्रगति विवरण बुझाउँदै आएको छ । हालसम्म प्रहरीले गरेको काम अनुसन्धान अधिकृत तोक्ने, कृष्ण माविका शिक्षक शिवनारायण यादव, भीमबहादुर तामाङ, मुकुन्दप्रसाद अधिकारी र राधेश्याम श्रेष्ठसँग बकपत्र गर्ने कार्य भएको विवरण सर्वोच्चलाई उपलब्ध गराएको छ ।

यस्तै, द्वन्द्वपीडित तथा मानवअधिकार रक्षकले चिन्ता व्यक्त गरेको भए पनि १२ माघ २०७६ मा न्यायाधीश मल्लको एकल इजलासले रिट निवेदनउपर सुनुवाइ गर्दै अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको थियो । तर, विगतका अन्तरिम आदेश तथा सापकोटाको मुद्दामा भइरहेको अनुसन्धानका विषयमा ३० दिनभित्र विवरण उपलब्ध गराउन सरकारलाई आदेश दिएको थियो । राजधानी दैनिकमा समाचार छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *