सञ्चारमन्त्री गुरुङलाई कारबाही गर्न पूर्वआईजीपीहरूको माग (विज्ञप्तिसहित)
नेपाल प्रहरीका पूर्व महानिरीक्षकहरूको संगठन ‘पूर्व प्रहरी संगठन प्रमुख मञ्च’ले सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले ‘प्रहरी महानिरीक्षकको जिब्रो थुत्नुपर्ने’ भन्दै दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै उनलाई कारबाही गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन् ।
उनीहरूले मंगलबार विज्ञप्ति जारी गर्दै मन्त्री गुरुङलाई तत्काल उक्त वचन फिर्ता लिई नेपाल प्रहरी संगठन र प्रहरी महानिरीक्षकसँग क्षमायाचना गर्न र आगामी दिनमा सुरक्षा निकाय उपर टिप्पणी गर्नु पूर्व थप सचेत रहन भनेका छन् ।
नेपालको संविधानले आम नागरिकको अभिव्यक्तिको स्वतन्त्रतालाई सुनिश्चित गरे पनि अभिव्यक्तिको स्वतन्त्रता भनेको निम्छरो भाषिक अराजकता नभएको उनीहरूले उल्लेख गरेको छ ।
‘स्वतन्त्रताको उपयोग गरिँदा अर्को पक्षको अधिकारको सीमा अनतिक्रम्य रहन्छ भन्ने सामान्य बुझाइ नागरिकमा हुनुपर्छ, यो लोकतन्त्रको सुन्दर पक्ष पनि हो, ‘मञ्चको विज्ञप्तिमा छ,‘पदीय हैसियतमा माननीय मन्त्रीज्यूसँग सबैले शालीन, सुसंस्कृत र पारस्परिक रूपमा सम्मानजनक व्यवहारको अपेक्षा गरेका हुन्छन् । यसको विपरीत माननीय मन्त्रीज्यूबाट प्रहरी महानिरीक्षकविरुद्ध अमर्यादित र अशोभनीय शब्दावलीको जुन प्रयोग भयो त्यसले माननीयज्यूको राजनीतिक कद घटाएको छ भने नेपाल प्रहरी जस्तो गरिमामय र नेपाल सरकारको सबैभन्दा सक्रिय संगठनको नजरबाट माननीयज्यू गिर्नु भएको छ ।
प्रतिक्रिया