मौलिक अधिकारका मर्म र भावना पूर्ण कार्यान्वयन गर्छौं : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानका मौलिक अधिकारका मर्म र भावना पूर्णतः कार्यान्वयन गर्ने बताएका छन्।

मंगलवार काठमाडौंमा लैङ्गिक समावेशीकरण सम्बन्धी अन्ताराष्ट्रिय सम्मेलन उद्घाटन गर्दै उनले यस्तो बताएका हुन्। उनले सरकार अन्ताराष्ट्रिय प्रतिबद्धता र सम्झौताको कार्यान्वयनप्रति प्रतिबद्ध रहेको बताए। प्रधानमन्त्री ओलीले नेपालको गरिबी उन्मूलन गर्ने, समृद्ध नेपाल, सुखी नेपालीको लक्ष्य पूरा गर्ने र मुलुकको विकासका काम गर्ने प्रतिबद्धता जनाए।

उनले शान्ति, सुरक्षा र अधिकारसहित जनताले सम्मानजनक जीवनको अनुभूति गर्ने गरी सरकारले काम गरिरहेको बताए। संविधानका मौलिक हक, मानव अधिकारसम्बन्धी राष्ट्रिय र अन्ताराष्ट्रिय प्रतिबद्धतालाई आत्मसात गर्दै ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गर्ने बताए।

प्रधानमन्त्री ओलीले नेपालले पहिलो महिला राष्ट्रपति, प्रधानन्यायाधीश, प्रतिनिधिसभाका सभामुख र मुख्यसचिव पाइसकेको बताउँदै राज्यका सबै निकायमा महिला सहभागिता बढाउन आवश्यक सहजीकरण भइरहेको उल्लेख गरे।

ओलीले भने‘हामीले संविधानका मौलिक अधिकारका मर्म र भावनालाई पूर्णतः कार्यान्वयन गर्नेछौँ। अन्ताराष्ट्रिय प्रतिबद्धता र सम्झौताको कार्यान्वयनप्रति प्रतिबद्ध छौँ। नेपालको गरिबी उन्मूलन गर्नेछौँ। समृद्ध नेपाल, सुखी नेपालीको लक्ष्य पूरा गर्नेछौँ।’

प्रधानमन्त्री ओलीले नेपालमा अझै पनि २० प्रतिशत नागरिक निरपेक्ष गरिबीको रेखामुनि रहेको र गरिबी निवारणको लक्ष्य पूरा नगरी सबै नागरिकलाई आधारित अधिकारबाट सम्पन्न गराउन सम्भव नरहेको बताए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर