आईजीपीको जिब्रो थुत्नुपर्ने अभिव्यक्ति दिने सञ्चारमन्त्रीलाई बर्खास्त गर्न कांग्रेस सांसदको माग

कांग्रेस सांसद शंकर भण्डारीले सूचना तथा सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङलाई बर्खास्त गर्न प्रधानमन्त्री केपी शर्मा ओलीसँग आग्रह गरेका छन् । मन्त्री गुरुङले नेपाल प्रहरीका प्रहरी महानिरीक्षक(आईजीपी) वसन्त कुँवरलाई सार्वजनिक स्थलमा अपशब्द बोलेको भन्दै उनलाई प्रधानमन्त्रीले बर्खास्त गर्नुपर्ने बताएका हुन् ।

‘देशको शान्ति सुरक्षा कायम गर्ने जिम्मा लिएको प्रहरी संगठनको प्रमुखलाई नेपाल सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चार मन्त्रीबाट सार्वजनिक स्थलमा अपशब्द व्यक्त भएकोमा मैले त्यसको घोर भर्त्सना गर्दै प्रधानमन्त्रीले सञ्चार मन्त्रीलाई बर्खास्त गर्न आह्वान गर्दछु,’ भण्डारीले जारी गरेको विज्ञप्तिमा भनिएको छ । शान्ति सुरक्षामा भविष्यमा कुनै तलमाथि हुन आएमा यसको जिम्मेवार स्वयं सरकार र प्रधानमन्त्री हुने पनि सांसद भण्डारीको चेतावनी छ ।

गुरुङले प्रहरी समायोजन गर्ने विषयमा प्रहरी महानिरीक्षकले अवरोध गरेको भन्दै ‘जिब्रो थुत्नुपर्ने’ भनी अशोभनीय र अमर्यादित अभिव्यक्ति दिएका थिए । उनको अभिव्यक्ति विवादमा आएपछि प्रधानमन्त्री ओलीले बोलाएर सचेतसमेत गराएका छन् । प्रधानमन्त्री ओलीले सोमबार बालुवाटारमा बोलाएर ‘अब बोल्दा विचार गर्नू’ भन्दै सचेत गराएको मन्त्री गुरुङ आफैंले बताएका छन् ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *