उपत्यकाको पानीमा आर्सेनिक बढी

काठमाडौँ उपत्यकाको पानीमा मापदण्डभन्दा बढी आर्सेनिक भेटिएको छ । काठमाडौँ उपत्यकाको दक्षिण–पूर्वी क्षेत्रको पानीमा आर्सेनिकको मात्रा बढी भेटिएको खानेपानी मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका सहसचिव कृष्णप्रसाद आचार्यले यसअघि प्रायः तराईका जिल्लाको पानीमा निर्धारित मापदण्डभन्दा बढी भेटिने आर्सेनिक काठमाडौँ उपत्यकामा समेत भेटिएको जानकारी दिए । उनका अनुसार उपत्यकामा ललितपुरको इमाडोल, टीकाथली, बाँझेपोखरी, सानेपा, काठमाडौँको बल्खु, स्युचाटार र भक्तपुरको बालकोट क्षेत्रको पानीमा मापदण्डभन्दा बढी आर्सेनिक भेटिएको हो । काठमाडौँको अन्य क्षेत्रको पानीमा अहिलेसम्म मापदण्डभन्दा बढी आर्सेनिक नभेटिएको उनले स्पष्ट पारे ।

सहसचिव आचार्यले काठमाडौँको पानीमा न्यूनतम एकदेखि अधिकतम दुई सय पिपिबीसम्म आर्सेनिकको मात्रा भेटिएको जानकारी दिए । उनले भने, ‘राष्ट्रिय खानेपानी गुणस्तर मापदण्ड अनुसार खानेपानीमा आर्सेनिकको मात्रा प्रतिलिटर पचास पिपिबीसम्म हुनु पर्छ । विश्व स्वास्थ्य सङ्गठनले खानेपानीमा आर्सेनिकको मात्रा प्रति लिटर दस पिपिबीसम्म निर्धारण गरेको छ ।’

उनले भने, ‘तराईको स्यालो ट्युबवेलको पानीमा आर्सेनिकको मात्रा बढी भेटिए पनि काठमाडाँैको ‘डिप ट्युबवेल’ मा आर्सेनिकको मात्रा मापदण्डभन्दा बढी भेटिएको हो । उनले यी क्षेत्रका स्यालो ट्युबवेल र ‘डिप ट्युबवेल’ को पानी परीक्षणका क्रममा पानीमा आर्सेनिकको मात्रा बढी पाइएको जानकारी दिए ।

उनका अनुसार यी क्षेत्रको पानीको परीक्षण पहिला विभिन्न प्रयोगशालामा गर्दा आर्सेनिक भेटिएपछि त्यसको पुनः प्रमाणीकरणका लागि पानीपोखरीस्थित केन्द्रीय पानी प्रयोगशालामा परीक्षण गरिएको थियो । त्यहाँ पनि परीक्षणका क्रममा निर्धारित मापदण्डभन्दा बढी आर्सेनिक रहेको प्रमाणित भएको थियो । ‘डिप ट्युबवेल’ को पानी नखान आर्सेनिक भेटिएको क्षेत्रमा सचेतना फैलाइएको सहसचिव आचार्यले जानकारी दिए ।गोरखापत्र दैनिकमा समाचार छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *